धितोपत्र कसरी किनबेच हुन्छ ? यस्तो छ शेयर खरिदबिक्री प्रक्रिया

काठमाडौँ, असोज ३ । नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिने पूँजीबजारमा शेयर खरिदबिक्रीमा धेरै मानिसहरुको चासो बन्दै गएको छ । धितोपत्रको कारोबार वा शेयरमा लगानी गर्दा अन्धाधुन्धमा लाग्दा सम्पत्ति घट्न गइ व्यक्तिहरु शेयर बजारलाई दोष लगाउन उद्दत पनि रहेका विभिन्न सञ्चार माध्यममा आइरहेकै पनि हो ।

विद्यार्थीदेखि नेतासम्म निकै चर्चा पाउने यो शेयर बजार के हो र कसरी किनबेच हुन्छ । यस विषयमा नयाँ लगानीकर्ताहरुलाई केही जानकारी दिने प्रयास गरेका छौं ।

धितोपत्र कति प्रकारका हुन्छन् ?

धितोपत्रलाई वर्गीकरण गर्ने धेरै आधारहरु छन् । प्रतिफल तथा जोखिमका आधारमा धितोपत्र विशेष गरी तीन प्रकारका हुन्छन् । उच्च लाभ तथा उच्च जोखिम हुने धितोपत्र । यो वर्गमा शेयर पर्छ । मध्यम लाभ तथा मध्यम जोखिम हुने वर्गमा अग्राधिकार सेयर, संस्थागत ऋणपत्र (डिबेञ्चर), सामूहिक योजनाका एकांकलाई राख्न सकिन्छ । न्यून जोखिम तथा न्यून प्रतिफल प्राप्त हुने वर्गमा सरकारी ऋणपत्रलाई राख्न सकिन्छ ।

संगठित संस्थाको दायित्व तथा उसले वितरण गर्ने प्रतिफल माथिको अधिकारका आधारमा पनि धितोपत्रहरुको वर्गीकरण गर्न सकिन्छ । दाताहरुलाई निश्चित प्रतिफल (ब्याज) दिने गरी जारी गरिएको धितोपत्र ऋणपत्र हुन् । कम्पनी विघटन हुने अवस्थामा भुक्तानी लिने पहिलो पालो ऋणपत्र धनीहरुको हुन्छ । साधारण शेयरमा शेयर धनीहरुलाई बाँड्ने प्रतिफल पहिल्यै निश्चित गरिएको हुँदैन ।

कम्पनी विघटन हुने अवस्थामा भुक्तानी लिने पालो शेयरधनीहरुको अन्तिममा आउँछ । अग्राधिकार शेयरलाई सामान्यतया ऋणपत्र र साधारण शेयरको मिश्रित गुण भएको धितोपत्रका रुपमा लिन सकिन्छ । कम्पनीले वितरण गर्ने प्रतिफलमा साधारण शेयरधनी भन्दा अग्राधिकार सेयरधनीको अधिकार अगाडि आउँछ ।

धितोपत्र किनबेच

कम्पनीहरुले धितोपत्र निष्कासन गरेका बखत धितोपत्र खरिद गर्न सकिन्छ । यसलाई प्राथमिक बजारबाट धितोपत्र खरिद गरिएको भनिन्छ । सामान्यतया यो बजारमा धितोपत्रहरु अंकित मूल्यमा खरिदबिक्री हुन्छ । वित्तीय अवस्था बलियो भएका कम्पनीले अंकित मूल्यमा थप रकम जोडेर प्रिमियममा पनि बिक्री गर्न सक्छन् ।

प्राथमिक बजारमा कम्पनीहरुबाट खरिद गरिएको धितोपत्र आवश्यक परेको बेला बिक्री गर्न सकिने व्यवस्था गरिएको हुन्छ । यस्तो व्यवस्थालाई दोस्रो बजार भनिन्छ । स्टक एक्सचेञ्जहरुले दोस्रो बजारको रुपमा काम गरेका हुन्छन् ।

स्टक एक्सचेन्जमा बजार माग र आपूर्तिले निर्धारण गरेको मूल्यमा धितोपत्रहरुको कारोबार हुन्छ । स्टक एक्सचेन्जमा सेयर कारोबार सदस्य दलालमार्फत् हुन्छन् । धितोपत्र किनबेच गर्नेले दलाललाई कमिसन तिर्नुपर्छ ।

प्राथमिक बजारमा धितोपत्र किनबेच

सार्वजनिक रुपमा निष्काशन भएका धितोपत्रहरु सर्वसाधारणले आफूले लिन चाहेको धितोपत्रको संख्या तथा रकम स्पष्टसँग उल्लेख गरि meroshare.cdsc.com.np मा गई अनलाईन आवेदन भर्नुपर्दछ ।

धितोपत्र खरिदका लागि आवेदन दिनुअघि लगानिकर्ताले ASBA (Application Supported Blocked Amount) सुविधा दिने बैंकमा खाता खोली अनलाइन सुविधा लिने व्यवस्था लिएको हुनुपर्दछ भने सिडिएससिका निक्षेप सदस्य (Depository Participant) को मा Demat खाता खोलेको हुनुपर्दछ । Demat खातामा लगानिकर्ताको धितोपत्र अभौतिक रुपमा रहेको हुन्छ ।

धितोपत्र दलाललाई किनबेच गर्ने आदेश

सूचीकृत धितोपत्रहरु खरिद वा बिक्री गर्ने निर्णय गरेपछि लगानीकर्ताले धितोपत्र दलालको कार्यालयमा गएर तोकिए अनुसारको आदेश–पत्र भर्नुपर्ने हुन्छ । यस्ता आदेशमा लगानीकर्ताले आफूले खरिद वा बिक्री गर्न चाहेको धितोपत्रको किसिम, संख्या, मूल्य, आदेश बहाल रहने अवधि आदि स्पष्ट रुपमा उल्लेख गर्नुपर्दछ ।

आदेश वहाल रहने अवधि उल्लेख नगरेको अवस्थामा त्यस्तो आदेश पत्रको वहाली १५ दिनसम्म कायम रहन्छ । खरिद वा बिक्री आदेश दिएपछि लगानीकर्ताले दलालबाट आफूले दिएको आदेशको दर्ता नम्बर, दर्ता भएको मिति र समय समेत खुलेको निस्सा प्रमाण लिनुपर्दछ ।

लगानीकर्ताहरुबाट प्राप्त खरिदबिक्री आदेश अनुसार धितोपत्र दलालहरुले कारोबार गर्दा दर्ता क्रम अनुसार लगानीकर्ताको नाम, धितोपत्रको नाम, मूल्य आदि स्टक एक्सचेञ्जको कम्प्युटरकृत कारोबार प्रणालीमा प्रविष्टी गर्दछन् । यसरी प्रविष्ट भएको खरिद तथा बिक्री आदेश मूल्य–समय प्राथमिकताको आधारमा मेल खाएपछि धितोपत्र कारोबार सम्पन्न हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =