आज विश्वकर्मा पुजाः यस्तो छ महत्व

“
आश्विन १, काठमाडौँ । आज विश्वकर्मा पुजा भएकोले देशभर विश्वकर्मा पुजाआजा गरी मनाइदैछ । आज विषेशगरी कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउने गर्दछन् ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
आजको दिन निर्माण ब्यवसायी, आटोमोवायल्स, उद्योग कलकारखानामा विश्वकर्मा पुजा भब्य रुपमा मनाउने गरिन्छ । भने, सवारीधनी र सवारी चालकले समेत यो दिवसलाई विशेष रुपमा मनाउने गर्दछन् । आज विश्वकर्माको पुजाआजा गरे वर्षभरी आफ्ना यान्त्रिक साधन नविग्रने, दुर्घटना नहुने जनविस्वास रहिआएको छ ।
विश्वकर्मा बाबा हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, उनको एकमात्र सन्तान छोरी सन्ध्याको विवाह भगवान सूर्यसँग भएको थियो ।
प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।
पूर्वोत्तर भारत, बङ्गलादेश र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते (कन्या सङ्क्रान्ति) का दिन मनाउने प्रचलन छ । भारतका कतिपय क्षेत्रमा गोरुतिहार (गोवर्द्धन पूजा) का दिन भगवान् विश्वकर्माको पूजाअर्चना (औजार(पूजा) गर्ने गरिन्छ । यसरी भगवान् विश्वकर्माको जयन्ती मनाउने क्रममा विद्वानहरूमाझ मतभेद छ । श्रुतिको वचन अनुसार विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा(आराधना गर्नुपर्दछ ।
“








