अपडेट : राति थुुनिएको बडिगाढ खोलामा पानी बग्न थाल्यो, खतरा टर्दै

“बागलुङ्ग, भदौ ३० ।बाग्लुङ्गको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा शुक्रबार रातिदेखि थुनिएको बडिगाड खोलामा पाँच घण्टापछि पानी बग्न थालेको छ ।
थुनिएको खोलाको सतहमाथिबाट बिस्तारै पानी बग्न थालेको हुँदा त्यहाँको अवस्था अहिले खतरामुक्त रहेको घटनास्थलवाट बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए ।
ढोरपाटन नगरपालिका –१, र बडिगाड गाउँपालिका –७, अन्तर्गत भर्याङ क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि शुक्रबार रातिदेखि खोला थुनिएको थियो । ‘हामी बिहान ५ः १५ मा खोला थुनएको ठाउँमा आइपुगेका थिययौँ, माथिबाट निकै गहिरिएर पहिरो खसेको रहेछ, ताल २ किलोमिटर जति लामो बनेको छ, पहिरो पनि डेढ किलोमिटर भन्दा लामो गएको रहेछ’, घटनास्थलको अवलोकन गरेपछि प्रमुख जिल्ला अधिकारी खरेलले भने।
प्रमुख जिल्ला अधिकारीका अनुसार ताल नफुटे पनि ताल माथिबाट अहिले पानी जान थालेको हुँदा थुनिएको खोलामा ५० प्रतिशत पानी बग्न सुरु गरेको कारण उक्त क्षेत्रको अवस्थाखतरामुक्त रहेको बताए।
खोला थुनिएपछि ढोरपाटन नगरपालिका –२, सिमलचौर क्षेत्रका केही घरहरु डुवानमा परेका छन् । डुवानबाट कुनै मानवीय क्षति भने भएको छैन । पहाड माथिबाट खसेको ठूला–ठूला चट्टानका कारण खोला थुनिएपछि बडिगाड छेउछाउमा रहेका बाग्लुङ्ग र गुल्मीका नागरिक रातभर जाग्राम बसेका थिए । उनीहरु थुनिएको खोलाको ताल कुनै पनि बेला फुट्न सक्ने खतराबाट अझै पनि निकै त्रसित छन् ।
घटनाको जानकारी पाएपछि राति नै बाग्लुङ्गबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली राति नै सदरमुकामबाट घटनास्थलतर्फ गएको थियो ।
खोला थुनिएपछि गुल्मीको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिकाअन्तर्गत पर्ने बडिगाड खोला वरिपरि रहेका बजार र बस्तीहरुमा पनि सुरक्षा सर्तकता बढाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।
बडिगाड खोला थुनिएपछि मध्य पहाडी लोकमार्ग समेत बन्द भएको छ । बडिगाड थुनिएको स्थान बाग्लुङ्ग सदरमुकामबाट ८५ किलोमिटर उत्तर पश्चिम र गुल्मी सदरमुकामबाट ४५ किलोमिटरको दूरीमा पर्दछ ।
“








