साधारण तारेखमा छाडिए पत्रकार बस्नेत

“
काठमाडौं, भदौ २९ । समाचार प्रकाशन गरेको अभियोगमा पक्राउ परेका खोजतलास न्युज डटकमका प्रधानसम्पादक राजु बस्नेत साधारण तारेखमा शुक्रबार रिहा भएका छन् ।
साइबर क्राइमको अभियोगमा पक्राउ परेका पत्रकार बस्नेतलाई न्यायाधीश कृष्णप्रसाद पौडेलको एकल इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
बयान सुन्नका लागि पत्रकारहरु जिल्ला अदालत परिसरमा उपस्थित भएका थिए भने उनको रिहाइका लागि नेपाल प्रेस युनियनले चौतर्फी दबाब दिँदै आएको थियो । बस्नेतको तर्फबाट रमिता बस्नेतले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलाशले पत्रकार बस्नेतलाई पक्राउ गरिराख्न नपर्ने आदेश दिएको हो ।
‘जनप्रतिनिधि कि जग्गा दलाल’ शीर्षकमा प्रकाशन गरेको समाचारमा उजुरी परेपछि गत सोमबार महानगरीय प्रहरी परिसर ललितपुरले पत्रकार बस्नेतलाई पक्राउ गरेको थियो।
उनले दृष्टिन्युज डटकममा प्रकाशित समाचारलाई कपी गरेर आफ्नो अनलाइन र पत्रिकामा प्रकाशित गरेका थिए।
“








