डा. कोइराला भन्छन्–‘पत्रकार र डाक्टर पक्राउ गर्ने कार्य लोकतन्त्र समाप्त पार्ने खेल हो’

भाद्र २९, काठमाडौं । बर्तमान सरकार सर्वसत्तावाद हुँदै गएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले बताएका छन् । राजधानीमा आज आयोजित विचार गोष्ठी कार्यक्रममा बोल्दै डा. कोइरालाले दुई तिहाइको नाममा बर्तमान सरकारले लोकतन्त्र नै समाप्त पार्ने खेल खेलिरहेको आरोप लगाए । ‘समाचार लेख्यो भनेर पत्रकार पक्राउ गर्ने, उपचार गर्दा डाक्टर पक्राउ पर्ने, यो लोकतन्त्र समाप्त पार्ने खेल हो ।’ मोरङ–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित विचार गोष्ठीमा उनले भने ।

डा. कोइरालाले नेकपा सरकार सर्वसत्तावाद हुँदै अधिनायकवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै अब त्यसका विरुद्ध कांग्रेसले आफ्नो भूमिका बलियो बनाउनु पर्ने समेत उनको भनाइ छ । ‘प्रतिपक्षीको भूमिका के हो ? कसरी बलियो बनाउने हो, सोच्ने बेला आएको छ ।’ डा. कोइरालाले भने ।

उनले पार्टीले संसदमा राम्रो भूमिका खेल्न नसकेको समेत भन्दै कम्युनिस्ट ‘अधिनायकवाद’ हावी भइरहेका बेला कांग्रेसको भूमिका कमजोर भएकोले अब सच्चिएर अगाडी बढ्नुपर्ने बेला आएको बताए । ‘हामी चुनाव हारेका छौं, संगठन कमजोर भएका बेला हारेका छौं । पहिले हार स्वीकारौं, अनि मात्र पार्टी सुधार्न सकिन्छ ।’

कोइरालाले पार्टीको हारमा माओवादी–एमाले एकताको भूमिका नभएको समेत जिकिर गरे । पार्टी भित्रकै आन्तरिक विवाद र स्पष्ट कार्यदिशा तय गर्न नसक्दा कांग्रेस इतिहासमै कमजोर प्रतिपक्षी भएको उनको दावि छ । ‘नेपाली कांग्रेस एकढिक्का भयो भने नेकपालाई साइजमा ल्याउन सकिन्छ भनेर साथीहरूले भन्नुभयो । हो सकिन्छ तर त्यसको निम्ति विधान, विधि टेकेर जानुपर्छ ।’

कोइरालाले अहिले कांग्रेसको विधानमा ब्यापक सुधार गर्ने कार्य अघि बढिरहको प्रति बोल्दै विधान पन्छाउने कार्यले पार्टीमा सुधार नआउने तर्क गरे । ‘आन्तरिक रुपमा पार्टीलाई कसरी अगाडी लैजाने विधान संसोधन समितिले काम गर्दैछ, हामीले आफ्ना क्षेत्रबाट सकारात्मक सुझाब दिन आवश्यक छ ।’ कोइरालाले तदर्थवादमा नेपाली कांग्रेस चल्न थाल्यो भने कार्यकर्तामा ऊर्जा नआउने भन्दै समयमै अधिवेशन गरेर अघि बढे कांग्रेसले लोकतन्त्रलाई बचाएर लाने दावि समेत गरे ।

पार्टी भित्र पछिल्लो समय देखिएको गुटउपगुट प्रति कोइरालाले विगतमा गुट उपगुट भएपनि राष्ट्रियता, नागरिक अधिकार र पार्टीलाई एक बनाउने सवालमा पार्टी भित्र कुनै गुट नरहेको तर्क गरे । ‘तपाईंहरूलाई लागेको छ होला, म गुटलाई धेरै दोष दिन्नँ । पार्टीमा फरक विचार हुन्छ, गुट हुन्छ, स्वीकार गर्न सक्नुपर्छ, बिपी, गणेशमान, सुवर्णशमशेर, किसुनजी, गिरिजाबाबु हुँदा पनि गुट थियो ।’

कार्यक्रममा सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरूको सहभागीता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =