अाैसत भन्दा माथि उठ्न नसकेकाे ‘रोज’

काठमाडौँ, भाद्र, २९ । प्रदर्शनको संघारमा आईपुगेर रोजी नामसँग विवाद गर्दै फिल्म रोज रिलिज भएको छ । निर्मम तरिकाले हत्या गरिएकी रोजी महर्जनको सत्य घटनास“ग कथा र फिल्मको नाम पनि मिले पछि रोजीको परिवारले आपत्ति जनाएको थियो । निर्माण पक्षले उक्त घटनासँग फिल्मको सम्बन्ध नरहेको र फिल्मको नाम पनि परिवर्तन गर्ने प्रतिबद्धता जनाएपछि फिल्म रिलिजको सहमति भएको भनिएको थियो ।

यद्यपि फिल्म हेर्दा कथानक त्यही रोजी महर्जन हत्याकाण्डकै सेरोफेरो मै घुम्छ । जसले ती सबै पब्लिसिटी स्क्याण्डल भनेर बुुझ्न गाह्रो हुँदैन ।

फिल्म ‘रोज’का केही अत्यन्त राम्रा पक्षहरु छन् । नेपाली फिल्महरु अकल्पनीय र अविश्वसनीय कथाहरुको सेरोफेरो मै बढी रुमलिन्छन् । तर, ‘रोज’ले यथार्थसँग नजिक हुन खोजेको छ । यो व्यवसायिक नेपाली फिल्मको लागि सकारात्मक पक्ष हो । फिल्मको सिनेम्याटिक मुभ राम्रो छ । दृश्य भाषाको निर्माणको लागि प्रशस्त प्रयास गरेको पनि देखिन्छ ।

दृश्यबन्ध र दृश्यको आकार राम्रो छ । पटकथामा मिहेनत देखिन्छ, तर हाफ टाईम पछि कन्टेन्टको कमी महशुश हुन्छ । फिल्म मध्यान्तर सम्म त ठीकै छ तर मध्यान्तर पछि कमजोर छ ।

मध्यान्तर अघि प्रेममा केन्द्रीत फिल्म मध्यान्तर पछि अनुसन्धान र परिणाममा केन्द्रीत हुन खोजेको छ । तर प्रेममा जति सहज बनेको छ फिल्म अनुसन्धानमा त्यति हुन सकेको छैन । अर्थात कथाले खोजेको कन्टेन्ट पर्याप्त भएको छैन ।

प्रदीप खड्काले राम्रो कलाकारका रुपमा लामो रेसको घोडा हुने पुष्टि गर्ने पुनःप्रयास गरेका छन् । प्रेमीको रुपमा उनलाई सन्तोषजनक मान्न सकिन्छ । हत्याराका रुपमा पनि प्रयास त गरेका छन् तर लेभल अलि नपुगेको महशुश हुन्छ । भाषा र आवाजमा अलि काम गरेको भए उनको चरीत्रलाई उठाउन अझ मद्दत हुने थियो । नृत्य प्रदीपको कमजोर पक्ष रहेछ । यसलाई पनि प्राथमिकतामा राख्नु उनको करीयरका लागि लाभप्रद हुनेछ ।

मिरुनालाई अब नवनायिका त भन्न मिल्दैन । उनको यसअघि पनि फिल्म रिलिज भईसकेको छ । ‘रोज’मा उनको प्रस्तुतिकरण सामान्य छ । फिल्ममा उनी वकिलको भुमिकामा छिन् । मिरुनाले भाषामा निक्कै सुधार गर्नु पर्ने देखिन्छ । अभिनयमा पनि उनको हाउभाउ सपाट देखिन्छ ।

वकिलको रुपमा मिरुनालाई प्रत्येक पटक फरक फरक सारीमा प्रस्तुत गर्ने निर्माण पक्षले सँगैका अरु सहकलाकारहरुलाई भने उही एउटै लुगामा प्रस्तुत गरिरहनु खट्किन्छ ।

पारमिता आरएल राणाको चरीत्रमा उल्लेखनीय र स्मरणीय केही पनि छैन । आफुले गरिरहेभन्दा केही फरक काम गर्ने हो भने उनले धेरै कडा अभ्यास र साधना गर्नै पर्छ । वास्तवमा मिरुना र पारमिताको चारित्रिक कार्यव्यापार नै पुगेन ।

प्रदीपलाई एआईजीकै छोरा बनाउनुु पर्ने कुनै तर्क र आवश्यकता देखिदैन । खालि पाईलट पढ्न सक्ने हैसियतका लागि नै बनाएको हो भने त्यो आवश्यक होईन । त्यो बाहेक एआईजीको कुनै तर्कसंगत उपस्थिति देखिदैन । तर, कथालाई अझ रुचिकर बनाउन खासगरि मध्यान्तर पछि एआईजी चरीत्रलाई सक्रिय बनाउन सकिने ठाउँ थियो । जसको उपयोग गर्नबाट निर्देशक चुकेका छन् । एआईजीको एकमात्र छोरा हत्याकाण्डमा संलग्न भएको पाएपछि स्वाभाविक रुपमा उनको सक्रियता आवश्यक हुन्थ्यो । तर, लेखक र निर्देशकले त्यसलाई नजरअन्दाज गरेको प्रष्ट देखिन्छ ।

कर्मा शाक्यको डिएसपी चरीत्र पनि कथालाई रुचिकर बनाउन महत्वपूर्ण हुन सक्थ्यो । तर, उनलाई पनि उपयोग गर्न सकिएको छैन । कथामा द्वन्द्व सिर्जना गर्न उनको ठूलो योगदान हुन सक्थ्यो । कथाले ठाउँ दिएर पनि पटकथाले स्पेश दिन नसक्दा निर्देशकले त्यो अवसरबाट फाईदा लिन सकेनन् । उनको चरीत्रमा सिने तत्व प्रशस्त थियो ।

रोजीको आमा बुवाको भुमिका कमजोर रहयो । उनिहरुलाई कथाले मागेको पनि थियो । तर कथाले मागे पनि लेखक र निर्माण पक्षले त्यसको आवश्यकता नसम्झँदा उनिहरुको चरीत्र बेवारिस जस्तै बन्यो । फिल्मको उत्तरार्धमा रोजको आमाले डिएसपी समक्ष घटना व्यक्त गरिएको दृश्य नाटकीय मात्र होईन, अस्वाभाविक पनि छ ।

त्यस्तै प्रदीप, पारमिता र मिरुना सहपाठी पनि भएकोले उनीहरुको साथीहरु पनि साझा साथी थिए । उनीहरुको भुमिका पनि महत्वपूर्ण हुन सक्थ्यो । त्यसमा पनि ध्यान गएन । यही कारणले मध्यान्तर पछि फिल्म फितलो हुँदै गएको छ ।

‘रोज’ले नेपाली मोडलिङ क्षेत्रमा व्याप्त विकृतिलाई भण्डाफोर पनि गरेको छ । सिइओहरुको चरीत्र, मोडलहरुको मदिरामोह, अचेत हुने अवस्था सम्म मदिरापान गर्ने अनि सम्पूर्ण सर्वस्व सुम्पने चरीत्रलाई उजागर गर्न खोजिएको छ । यद्यपि, यो क्षेत्र शतप्रतिशत यस्तै छ भनेर बुझ्नु गलत हुन्छ ।

फिल्मको सबैभन्दा कमजोर पक्ष अदालती दृश्यहरु महशुश हुन्छ । जबकि, त्यही दृश्यहरु सबैभन्दा रुचिकर हुन सक्थ्यो । निर्देशकले गराउन सकेका छैनन् । संवाद, दृश्यबन्ध र प्रस्तुति केही पनि प्रभावकारी लाग्दैनन् । अदालती भाषा, व्यवहार, वातावरण नाटकीय लाग्छ । त्यसैले मध्यान्तर पछि फिल्मले पकड फुस्काउ“दै गएको छ ।

रोजी महर्जन हत्याकाण्डसँग जोडेर फिल्मको पब्लिसिटी स्क्याण्डल गरेको भए तापनि सोही कारणले फिल्मको कथाको क्लाईमेक्समा दर्शकलाई मजा आउँदैन । बरु त्यसो नगरेको भए कथा प्रतिको क्युरोसिटी कायम रहने थियो होला । फिल्म साह्रै वाह भनि हाल्ने नभए पनि राम्रै छ अर्थात औसत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =