निर्मला हत्या प्रकरण: सिआईबी अधिकृतमाथि छानविन गर्न समिति गठन

काठमाडौं– भदौ २८। कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्त बलात्कार प्रकरणमा एकपछि अर्को गर्दै रहस्मय हुँदै गएको छ । घट्नास्थलमा प्रहरी बरिष्ठ उपरिक्षक ठाकुर ज्ञवालीको नेतृत्वको अनुसन्धान टोली पठाएर नयाँ शिराबाट अनुसन्धान शुरु गरेको प्रहरीप्रधान कार्यालयले अर्को पनि अनुसन्धान टोली गठन गरेको छ ।

प्रहरी बरिष्ठ उपरिक्षक उत्तम सुवेदीको कमाण्डमा गठन भएको अनुसन्धान टोलीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यतिबेला अनुसन्धानका लागि कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख  डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको भूमिकाबारे छानविन गर्ने बताइएको छ ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी कर्मचारीहरु जो त्यतिवेला अनुसन्धानमा संलग्न थिए, उनीहरुको भूमिकाबारे छानविन गर्नका लागि यो टोली गठन भएको प्रहरी  प्रवक्ता शैलेश थापा क्षेत्रीले भने, ‘हाम्रा प्रहरी अधिकारीबारे आन्तरिक रुपमा छानबिन गर्ने कार्यादेश यो टोलीले पाएको छ । समितिमा पाँच जना सदस्य रहेका छन् ।

कञ्चनपुरका तत्कालीन एसपी बिष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले घट्ना भएको २४ दिनपछि अभियुक्त सार्वजनिक गरेका थिए । ब्युरोको टोलीले अनुसन्धानपछि सार्वजनिक गरेका ४९ बर्षीय दिलिपसिंह बिष्ट बलात्कारमा संलग्न भएको बारे स्थानीयले विश्वास नगरेपछि कञ्चनपुरमा जारी आन्दोलनले उग्ररुप लिएको थियो ।

अपराध अनुसन्धानमा अब्बल मानिने केन्द्रीय अनुसन्धान ब्यूरोको साख निर्मला बलात्कार प्रकरणमा खस्किएको छ । एउटै घट्नाले गर्दा प्रहरी संगठनप्रति नकारात्मक छाप परेपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान अधिकारी माथिनै छानविन थालेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *