संसदमा काँग्रेसको प्रश्न: ‘यी शक्तिशाली भनिएका अपराधीहरु को हुन् ?’

काठमाडौं, भदौ २८ । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार संसदमा यथार्थ जानकारी गराउने भएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले निर्मला पन्तको बलात्कार घटनाबारे संसदमा यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पन्तको हत्याबारे जवाफ माग गर्दै संसद अवरुद्ध गरेका थिए ।

निर्मला हत्या प्रकरणबारे गृहमन्त्रीले भोली संसदमा जावाफ दिने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हटेको थियो । प्रमुख विपक्षी कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र पत्रकार पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेका हुन् ।

दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पन्त हत्याको छानविन गर्न समिति बनेको तर, प्रतिवेदन आइनसकेको बताए । उनले सबै घटनाका अभियुक्तलाई उचित समयमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएका छन् ।

साथै सम्बन्धीत मन्त्रीहरुले भोलि सदनमा जवाफ दिने प्रतिवद्धता जनाएका छन् । कानुनमन्त्रीको प्रतिवद्धतापछि संसद सुरु भएको छ ।

यसअघि संसद बैठकमा बोल्दै काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले पन्तको बलात्कारपछि हत्याको घटना दिनानुदिन नाटकिय रुपमा जटिल र रहस्यमय बन्दै गएको भन्दै सरकारले नै वास्तविकता लुकाउन खोजेको आरोप लागाएका थिए ।

अनुसन्धान टोलीमा रहेका सदस्य उपसचिव वीरेन्द्र केसीले अनुसन्धानबाट राजीनामा दिएको विषयमा समेत उनले प्रश्न उठाउँदै उनले भने, ‘केसीले शक्तिशालि अपराधीहरुबाट मेरो ज्यान खतरामा रहेको भन्दै सरकार समक्ष आफ्नो जीवनरक्षाका लागि अपिल गरेका थिए । आखिर यो अवस्था किन र कसरी आयो ? यी शक्तिशाली भनिएका अपराधीहरु को हुन् ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 11 =