ओपीसीको प्याकमा पीपीसी सिमेन्ट, उपभोक्ता ठग्ने ओम सिमेन्टको इजाजत खारेज

“काठमाडौं, भदौ २७ । पर्साको वीरगञ्जस्थित इन्टरनेसनल सिमेन्ट उद्योग अन्तरगतको ओम ब्राण्डको कम्पनीको इजाजत रद्ध भएको छ । सिमेन्टको गुणस्तरमा प्रश्न उठेपछि इजाजत रद्ध गरिएको हो।
ओम सिमेन्टले गुणस्तरहित उत्पादन गरेर उपभोक्ता ठगेको भन्दै सरकारले इजाजत निलम्बन गरिदिएको हो ।
वीरगन्जमा उद्योग स्थापना गरी सिमेन्ट उत्पादन गर्दै आएको इन्टरनेसनल सिमेन्ट प्रालिको ‘ओम’ ब्रान्डको सिमेन्टको नेपाल गुणस्तर चिह्न ९एनएस० निलम्बनमा परेको हो ।
इन्टरनेसनल सिमेन्टको नाममा दर्ता रहेको उद्योगले उत्पादन गर्ने ओम ब्रान्डको ओपिसी सिमेन्टमा पीपीसी सिमेन्ट राखेर बिक्रि गर्दै आएकोले उद्योगको इजाजत खारेज गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टको गुणस्तर प्रयोगशालामा परीक्षण गर्दा ओपीसीको प्याकमा पिपिसी सिमेन्ट भेटिएको हो । ओपिसीमा क्लिंकर तथा जिप्समको मिश्रण रहेकाले केही महंगो हुने र पिपिसी सिमेन्टमा क्लिंकर, जिप्सम र फ्लाइएसको मिश्रण रहने गर्दछ।
विभागका अनुसार ओपीसीको तुलनामा पीपीसी सिमेन्ट करिब एकसय रुपैयाँ कम पर्छ । उद्योगले गुणस्तरमा ध्यान नदिई उपभोक्ता ठग्न थालेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगको इजाजत खारेज गर्न निर्देशन समेत दिएका थिए ।
उद्योगले ओपिसी सिमेन्टमा पीपीसी मिसाएर बिक्री गरेको भए पनि मजदुरलाई दोषी देखाएर कारबाहीबाट उम्किन खोजेको छ । उद्योगलाई पठाएको स्पष्टीकरणको जवाफमा उद्योगमा कार्यरत मजदुरका कारण त्रुटि हुन गएको व्यहोरा जवाफ उद्योगले पठाएको थियो ।
उद्योगले दिएको जवाफमा चित्त नबुझेपछि गुणस्तर चिह्न खारेज गर्ने निर्णयमा मन्त्रालय पुगेको हो । गुणस्तर चिह्न खारेज भएपछि इन्टरनेसनल सिमेन्टद्वारा उत्पादित ओपिसी सिमेन्ट बजारमा बिक्री, वितरण गर्न पनि नपाउने भएको छ ।
“








