ओली सरकारलाई सुझाव

भरतपुर, ५ फागुन । चितवनका उद्योगी व्यवसायीहरुले ओली सरकारलाई नेपालमा सुरक्षित लगानीमैत्रीको वातावरण बनाएर अघि बढ्न सुझाव दिएका छन् ।
‘ओली सरकारले सबैभन्दा पहिला लगानीमैत्री वातावरण बनाउन जरुरी छ’ उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले भने, ‘औद्योगिक सुरक्षाको वातावरण बनाउन जरुरी छ ।’ उद्योगी व्यवसायीहरुलाई लगानी गर्ने वातावरण बनाउन सरकारले नयाँ योजनाहरु ल्याउनुपर्ने बताए । उनले देशको विकास गर्न उद्योगी व्यवसायीहरुलाई थप हौसला बनाउनुपर्ने बताए । अध्यक्ष प्रधानले भने, ‘स्थानीय तहले पनि लगानीमैत्री वातावरण बनाउन उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ ।’

ओली सरकारबाट नेपाली जनताले धेरै अपेक्षा गरेका उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले बताए । उनले भने, ‘छोटा सरकारको पीडा खेपेका उद्योगी व्यवसायीहरुले अब स्थायी सरकारको अनुभूति पाइने आशाले उत्साहित भएका छन् ।’ उनले ओली सरकारलाई औद्योगिक वातावरण बनाउन सुझाव दिए । उनले भने, ‘ओली नेतृत्वको नयाँ सरकारले राजश्वको वृद्धि गर्नुपर्छ । रोजगारको सिर्जना गर्नुपर्छ । आयातालाई घटाउने र निर्यातलाई बढाउनुपर्छ ।’ उनले उत्पादनबिना देशको विकास सम्भव नभएको हुनाले उत्पादनमुखी योजना ल्याउन ओली सरकारलाई सुझाव दिएका छन् ।
चितवनका मानवअधिकारकर्मी खगराज ओझाले ओली नेतृत्वको सरकारले सुशासन र विकासलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘ओली सरकारले पहिलो काम नीतिगत भ्रष्टचारलाई रोक्नुपर्छ ।’ अधिकारकर्मी ओझाले आर्थिक समृद्धिको लागि करको दायरा बढाउनुपर्ने बताए । उनले भने, ‘ओली सरकारले जनताको संयुक्त लगानीमा काम गर्नुपर्छ । कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्छ ।’
समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भुवन सुवेदीले ओली सरकारले उत्पादनमा अनुदानको व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘ओली सरकार स्थायीत्व हुनुपर्छ । यो सरकारले निशर्त लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ ।’ भरतपुर ११ निवासी सुवेदीले कृषिमा आधुनिकीकरण गर्न ओली सरकारलाई सुझाव दिएका छन् ।
‘कृषियोग्य जमिन निर्धारण गर्नुपर्छ, उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्नुपर्छ । खेती गर्नेलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्छ’ सुवेदीले भने । उनले चमत्कारी काम गरेर देखाउन सके ओली सरकार हिट हुने र गतिलो काम नगरे यो सरकार फ्लप भएर जाने दावी गरेका थिए ।
भरतपुर ११ निवासी महिला अगुवा पार्वती घिमिरेले राष्ट्रिय हकहितको लागि कार्यक्रम ल्याउन ओली सरकारलाई सुझाव दिएका छन् । ‘यो सरकारले पृथक कार्यक्रम ल्याउन जरुरी छ । महिला हिंसाको अन्त्यको लागि महिला सशक्तिकरण कार्यक्रमलाई व्यापक रुपमा सञ्चालन गर्नुपर्छ’ युवा समाज नेपालका कोषाध्यक्षसमेत रहेका घिमिरेले भनिन्, ‘भ्रष्टचार नियन्त्रण गर्न, र जनतालाई सुशासन दिन सके ओली सरकार सफल हुनेछ ।’
हेफोडेक नेपालका अध्यक्ष सहदेव लकान्द्रीले ओली सरकारबाट राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सामाजिक सांस्कृतिक, आर्थिक रुपान्तरण एवम् सुशासनको अपेक्षा गरेको बताए । उनले भने, ‘शून्य सहनशीलताका आधारमा काम गर्न प्रशासन संयन्त्र परिचालन गर्नुपर्छ ।’
भरतपुर १० निवासी कर्मचारी होमनाथ घिमिरेले निम्नस्तरको जनताको आधारभूत आवश्यकता पूरा गर्न ओली सरकारलाई सुझाव दिएका थिए । उनले भने, ‘गरिब नेपालीहरुको जीवनस्थर सुधार गर्न ओली सरकारले नयाँ कार्यक्रमहरु ल्याउनुपर्छ ।’
विद्यार्थी सर्मिला ढकालले यो सरकारले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने बताइन् । उनले भनिन्, ‘आफ्नै देशमा रोजगारीको व्यवस्था गरिनुपर्छ । लाखौं नेपालीहरु विदेश जानबाट रोक्नुपर्छ ।’
उनले शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताइन् । ‘कुनै नेपाली पैसाको अभावमा खान नपुग्ने, उपचार नपाउने अवस्था सिर्जना नहोस्’ उनले भनिन् ।








