देशभरका सामुदायिक विद्यालय बन्द गर्ने राहत शिक्षक समितिको घोषणा

कैलाली, भाद्र २५ । नेपाल राहत शिक्षक समितिको आयोजनामा भोलि भाद्र २६ गतेदेखि ३ दिन देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।

नेपाल राहत शिक्षक केन्द्रिय समितिको २०७५ साल भाद्र २१ गतेको अपिल अनुसार संघीय शिक्षा ऐन २०७५ मा राहत शिक्षकका मागहरुलाई व्यवस्थापन गर्नुपर्ने माग राख्दै भोलि भाद्र २६ गतेदेखि २८ गतेसम्म देशैभरका सामुदायिक विद्यालयमा शैक्षिक आम हडतालको घोषणा गरेको हो ।

नेपाल राहत शिक्षक केन्द्रिय समितिले तय गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत भदौ २६, २७ र २८ गते देशभरी सामुदायिक विद्यालयमा शैक्षिक आम हड्तालको आयोजना गर्नु परेको नेपाल राहत शिक्षक केन्द्रिय समितिका सचिव मोहन भण्डारीले बताए ।

विगतमा राहत शिक्षकको आन्दोलनबाट प्राप्त उपलब्धिलाई समेत मेट्ने गरी आगामी असोज ३ गते जारी हुन लागेको संघीय शिक्षा ऐनको मस्यौदामा राहत शिक्षकहरुको व्यवस्थापनका बारेमा कुनै कुरा नसमेटिएको आरोप राहत शिक्षकहरुको छ ।

राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई एकमुष्ट स्थायी गर्नका लागि संघीय ऐनमा नीतिगत व्यवस्थापन गर्नुपर्ने, स्थायी प्रक्रियाको थालनी गर्नुपूर्व राहत शिक्षक सम्बन्धि हालको शिक्षा ऐन तथा नियमावलीहरुले गरेको व्यवस्थाहरुको स्वामित्व जारी हुनेगरी संघीय ऐनले ग्रहण गर्नुपर्ने माग राहत शिक्षक केन्द्रिय समितिको रहेको छ ।

त्यसैगरी स्थायी प्रक्रिया शुरु गर्नुपूर्व शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परीक्षामा राहत दरबन्दीमा कार्यरत शिक्षकहरुको उमेरको हदबन्दी हटाउनुपर्ने, राज्यबाट शिक्षक शिक्षक बिच गरिदै आएको सबै खाले विभेदको अन्त्य गर्ने नीतिगत व्यवस्था सुनिश्चित गर्नुपर्ने लगायतका माग राहत शिक्षकहरुको रहेको नेपाल राहत शिक्षक समिति लम्कीचुहाका सल्लाहकार रंगप्रसाद तिमिल्सैनाले बताए।

देशभरी रहेका करिब ४० हजार राहत शिक्षकहरुको अधिकारका लागि नेपाल राहत शिक्षक केन्द्रिय समितिले भोलि भदौ २६ गतेदेखि २८ गतेसम्म तय गरेको सामुदायिक विद्यालयको शैक्षिक हड्ताल कैलालीमा समेत आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुन नेपाल राहत शिक्षक समिति लम्कीचुहाका अध्यक्ष विनोद आचार्यले अपिल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =