मनपरी भाडा अशुली, अटो रिक्साको दादागिरि !

पुनर्वास, भदौ २५ । कञ्चनपुरको पुनर्वास–बेलौरीमा यतिखेर लाईसेन्स बिनैै अटो रिक्सा चलाउनेको संख्या बढ्दै गएको छ ।

डोकेबजारबाट पुनर्वास–बेलौरीको विभिन्न स्थानहरुमा अटो तथा ई–रिक्साले बिना लाईसेन्स यात्रु बोकेर कुद्दा समेत ट्राफिक प्रहरीले कारबाही गर्न सकेको अवस्था छैन । यसै कारणले पनि अटो रिक्सा चालकको संख्या र दादागिरी बढ्दै गएको छ ।

अटो तथा ई–रिक्साको लाईसेन्स मात्र हैन गाडीको नम्बर समेत नभएको भएतापनि ती सवारी साधनहरु ट्राफिक प्रहरी कै सामू निर्वाध रुपमा चल्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

पछिल्लो समय यातायातका साधनका लागि पुनर्वास र बेलौरी बजारहरुमा चल्ने लाइसेन्स नभएका अटो तथा ई–रिक्सा चालकका कारण दुर्घटनामा वृद्धि भइरहेतापनि ट्राफिक प्रहरीले कुनै चासो नदिएको जनगुनासो बढ्दै गइरहेको छ ।

डोकेबजारदेखि पुनर्वासमा गुड्ने अधिकांश रिक्सा चालकसँग अनुमती पत्र समेत छैन । पुनर्वास चोकमा यात्रु कुरिरहेका एकजना चालक भन्छन् ‘धेरैले बिना लाईसन्स दौडाउँछन् र ती मध्य म पनि एक हुँ । उनी थप्छन, ‘बेकारको झञ्झट के गरिराख्नु ? खासै चेक पनि हुँदैन । समाति हाल्यो भने लाइसेन्सको प्रकृयामा छु, भनिहाल्छु, त्यसपछि त ढुक्क ।’

सेती–महाकाली यातायात प्रा.लि.का अध्यक्ष प्रकाश बोगटीका अनुसार पुनर्वास क्षेत्रमा गुड्ने अटो रिक्साको संख्या एकसय भन्दा माथि पुगिसकेको छ । सामान्य भनसुन र प्रहरीको फितलो निगरानीका कारण लाइसेन्स बिनै गाडी हुँइकाउन पाउने भएपछि अटो तथा ई–रिक्साको संख्या अझै बिकराल रुपमा वृद्धि हुने एक जना अटो व्यवसायीले बताए ।

मनपरी भाडा अशुली, अटो रिक्साको दादागिरि

कञ्चनपुरको डोकेबजारबाट पुनर्वासका लागि चल्ने अटो रिक्साको दादागिरी र मनोमानी पनि बढ्दै गइरहेको छ । विना लाइसेन्स अटो रिक्सा चलाएपनि उनीहरुको दादागिरी कम हुँदैन ।

अटो रिक्साका चालकहरु आफुखुशी मूल्य अशुलेर आफ्नो दादागिरी र मनोमानी बढाउँदै गएका छन् । पुनर्वासको विभिन्न स्थानहरुमा अटो रिक्साले मनलाग्दी भाडा असुल गर्दा स्थानीय यात्रुहरु मारमा परेका छन् ।

भाडा कार्यान्वयनमा सकृय हुनुपर्ने निकाय निष्कृय बनेपछि अटो व्यवसायीहरुले सर्वसाधारणहरुलाई ब्रम्हलुट गरिरहेको स्थानीयको आरोप छ ।

पुनर्वासमा चल्ने अटो रिक्साको भाडामा देखिएको मनोमानी र लूटतन्त्रलाई न प्रशासनले हेर्छ, न नगरपालिकाले, न त ट्राफिक प्रशासनले नै चासो दिन्छ । यसरी सरोकारवालाहरुले नै चासो नदिएकाले उनीहरुमा यात्रुबाट मनोमानी भाडा अशुल्ने प्रवृत्ति झन् मौलाउँदै गएको जनगुनासो छ ।

अटो रिक्साको लोकप्रियता

कञ्चनपुरको डोकेबजारदेखि पुनर्वास–बेलौरीका विभिन्न स्थानहरु अटो रिक्साले नै भरीभराउ देखिन थालेका छन् । पुनर्वास, बेलौरी क्षेत्रबाट धनगढी आउने सर्वसाधारणका लागि पहिलो रोजाईँ बनेका छन् अटो रिक्साहरु । कारण, जाहाँ भन्यो त्यहिँ पु¥याउने, खोजेको बेला पाइँने र ठेलमठेल यात्रा गर्नु नपर्ने । अटो र ई–रिक्सा आएदेखि बजार आऊ–जाऊ गर्न सजिलो भएको पुनर्वासदेखि रिक्सा चढेर डोकेबजार हिँडेकी सुनिता चौधरी बताउँछिन् । उनी भन्छिन्, ‘पहिले बजार आउन जान घण्टौँ बस कुर्नुपथ्र्यो, अहिले निकै सजिलो छ ।’

चालक अनुमती–पत्र अनिवार्य

सर्वसाधारणका लागि प्रिय बनेको अटो रिक्सा चलाउन पनि अरु सवारी साधनको जस्तै प्रावधान पुर्याउनुपर्ने हुन्छ । सवारी चालकले सवारी दर्ता र अनुमती पत्र लिएर मात्रै अटो रिक्सा चलाउन पाउने नियम छ ।

ट्याम्पो, अटो र ई–रिक्सालाई एउटै दर्जा दिएर यातायात व्यवस्था कार्यालयले फारम खुलाएर ‘सि’ क्यटगोरीको चालक अनुमती पत्र वितारण गरेको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका चालक अनुमती पत्र फाँटका शाखा अधिकृत केशवदत्त जोशीले जानकारी दिए । “जसले जति नै व्यवहारिकताका कुरा गरेपनि लाइसेन्स बिना अटो रिक्सा चलाउन पाइँदैन,” उनले भने “यातायात व्यवस्था कार्यालयले समय मिलाएर लाइसेन्स वितरण गर्छन्, लाइसेन्स लिएर मात्र चलाउने गर्नुहोस् ।”

गाउँघरमा व्यवहारिकता हेर्नुपर्छ : ट्राफिक प्रहरी

 

सवारी चालक अनुमती पत्र भए नभएको जाँच गर्ने ट्राफिक प्रहरीले भने अनुमती पत्र नभएका चालकहरुलाई व्यवहारिकता हेर्नुपर्ने बताए ।

बिना अनुमती पत्र अटो र ई–रिक्सा चलाउने गरेको स्वीकार गर्दै ट्राफिक प्रहरी पोष्ट त्रिभुवनवस्तीका प्रहरी सहायक निरीक्षक खडक बम भन्छन्, ‘हामीले गाउँघर भएकोले व्यवहारिकता हेरेका छौं । सरकारले पनि भनेको बेलामा चालक अनुमति–पत्र दिएको छैन, नियमसंगत कसिकसाउ गरेर जाँदा अटो व्यवसायीहरु आक्रोशित भएर निहूँ खोज्न सक्छन् ।’

तर यता नागरिक समाजले बिना लाइसेन्सको चालकले दुर्घटना निम्त्याउने भन्दै चिन्ता व्यक्त गरेका छन् । नागरिकको जीऊधनको गम्भीरतालाई ऐन कानून मिचेर व्यवहारिकताको रङ्ग नदिन ट्राफिक प्रहरीलाई उनीहरुले अनुरोध समेत गरेका छन् ।

भद्रगोल बजार र बढ्दो दुर्घटना

अटो रिक्साको अव्यवस्थित पार्किङ र बढ्दै गएको चापले कञ्चनपुरको डोकेबजार र पुनर्वासमा दिनप्रतिदिन ट्राफिक व्यवस्थापन समस्या बढ्दै गएको छ । डोकेबजार र धनगढी जोड्ने मुख्य सडक र पुनर्वासको आई.बी.आर.डी.को सडकमा अटोरिक्साहरु जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समस्या बढ्दै गएको हो । साँघुरो सडक, अव्यवस्थित ट्राफिक व्यवस्था र अटोरिक्साको चाप दिन–प्रतिदिन बढ्न थालेपछि अहिले कञ्चनपुरको पुनर्वास डोकेबजार, कैलालीको धनगढी र गौरीफण्टा नाका जाने मुख्य सडकखण्ड दुर्घटनाग्रस्त बन्दै गइरहेको छ ।

गत पुष २ गते राती पुनर्वास–डोकेबजार सडक खण्ड (पचगडिया प्रहरी चौकीदेखि करिब डेढसय मिटर नजिक) पुनर्वास नगरपालिका–११ का २९ वर्षीय भीमसिंह ठकुरीलाई चालक अनुमति–पत्र बिहीन पेट्रोल रिक्सा चालकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको थियो ।

अहिलेसम्म अटोरिक्साबाट गम्भीर दुर्घटना बाहेकका सामान्य दुर्घटना भएका घटनाहरुको कुनै लेखा जोखा नै नभएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 6 =