वीपी प्रतिष्ठानको रजत जयन्ति सम्पन्न

भाद्र २४, धरान । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजत जयन्ती सोमबार सम्पन्न भएको छ ।

सो अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै नेपालका लागी भारतीय राजदुत मन्जित सिंह पुरीले विपि प्रतिष्ठानले दिएको स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धान नेपालमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा समेत उत्कृष्ट रहेको बताए ।

उनले चिकित्सक उत्पादनदेखि, अनुसन्धान र विरामीलाई दिइरहेको सेवाको आधारमा प्रतिष्ठानमा उत्कृष्ट रहेको र भारतलाई त्यसमा सहभागी हुुन पाउँदा अत्यन्त गौरवान्तिक भएको बताएका छन् । उनले प्रतिष्ठान नेपाल भारत मित्रताको महत्वपूर्ण हिस्सा समेत भएको जिकिर गरे । राजदुत सिंह पुरीले प्रतिष्ठानले पूर्वी नेपालको मात्र नई पूर्वि नेपालका सिमामा रहेका भारतीय जनतालाई समेत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेर दुई देशका जनताको स्वास्थ्य सेवामा ठूलो टेवा दिएको उल्लेख गरे ।

प्रतिष्ठानको रजत जयन्ती तथा १ सय ५ औं विपि जयन्तीको अवसरमा बोल्दै प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले प्रतिष्ठानले सुरुवाती दिनमा दैनिक २० जनालाई सेवा दिएकोमा हाल दैनिक ३ हजार भन्दा बढीलाई स्वास्थ्य सेवा दिन सफल भएको बताए । उनले आगामी दिनमा प्रतिष्ठानलाई पूर्वकै टर्सरी सेन्टरका रुपमा विस्तार गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि अथ कार्ययोजना अगाडी बढाइने बताए ।

रौनियारले चाँडै किड्नी, मुटु र हड्डीको ट्रान्सप्लान्ट गर्ने योजना भइरहेको जानकारी दिए । यसैगरी उनले इमरजेन्सीको क्षमता बढाउने, १० बेड आइसियु थप्ने, अक्सिजन प्लान्ट खोल्ने, मेडिसिन र सर्जरीलाई छुट्टाछुट्टै बनाउने योजना रहेको र त्यसलाई पुरा गर्न सबैले सहयोग गर्नुपर्ने औल्याए । उपकुलपति डा. रौनियारले प्रतिष्ठानको शिक्षा तर्फ प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालय बनाउने कार्य अगाडी बढेको जानकारी दिए ।

रजत जयन्तीको अवसरमा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको समेत विमोचन गरिएको थियो । समारोहमा राजदुत मन्जित सिंह पुरी, संस्थापक सदस्य डा. नारायण कुमार, पूर्व निर्देशक प्रा.डा., सुन्दरमणी दिक्षित, प्रा.डा. मनोहरप्रसाद गुप्ता, पूर्व उपकुलपति प्रा.डा. लोकविक्रम थापा, पूर्व रजिष्टर नन्दकुमार थापा तथा सिनेटर डा. अन्जनकुमार झालाई सम्मान गरियो ।

प्रतिष्ठानको रजत जयन्ति तथा १०४ औं विपि जयन्तिको अवसरमा प्रतिष्ठानले म्याराथुन दौडको आयोजना गरेको थियो । जसमा नेपालका चर्चित म्याराथुन धावक बैकुण्ठ मानन्धरको समेत उपस्थिति रहेको थियो । यसैगरी, प्रतिष्ठानमा विज्ञान प्रर्दशनी समेत गरिएको थियो ।

रजत जयन्तिका अवसरमा आयोजित कार्यक्रममा सांसद मिना सुब्बा, मिनकुमार विश्वकर्मा लगायत धरानका उद्योगी, ब्यवसायी, बुद्धिजिविहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तस्विरहरूः लक्ष्मण थापाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =