बेपत्ता आयोगका अध्यक्षकाे लाचारी–‘आयोग आफैं पीडित छ अरुलाई कसरी उद्वार गर्ने ?’

“
भाद्र २४, काठमाडौं । बेपत्ता पारिएका ब्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आयोग आफैं पिडित भएकोले अरु पिडितलाई उद्दार गर्न नसक्ने बताएका छन् ।
नयाँ शक्ति नेपालको शहीद बेपत्ता परिवार, घाइते अपाङ्ग एवं द्वन्द्व प्रभावित ब्यवस्थापन विभागले आज वेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मल्लिकले आयोग आफैं कमजोर भएकोले काम गर्न कठिन भएको बताए ।
‘राज्यले आयोगलाई दिनुपर्ने सुविधा र साधन स्रोतको अत्यन्तै कम छ, न्यून कर्मचारीको कारण आयोगले आफ्नो योजना अनुसार काम गर्न सकिरहेको छैन ।’ मल्लिकले भने । आफुहरुले स्रोत साधनको ब्यवस्थाका लागि सम्बन्धित मन्त्रालयमा बारम्बार आग्रह गरेपनि सरकारले कुनै सहयोग नगरेको बताए । ‘बेपत्ताहरु आफैं पीडित त भए नै हामी आफैं पनि पिडित छौ कसरी काम गर्ने ?’ उनले भने ।
नयाँ शक्ति नेपालको शहीद बेपत्ता परिवार, घाइते अपाङ्ग एवं द्वन्द्व प्रभावित ब्यवस्थापन विभागले वेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक र आयुक्त तथा प्रबक्ता प्रा.डा.बिष्णु पाठकलाई ज्ञापनपत्र बुझाउँदै राज्य पक्ष र बिद्रोह बीच भएको बृहत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म अनुसार काम गर्नुपर्ने, बेपत्ताहरुको तत्काल खोजबिन छानबिन र ब्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेको छ ।
ज्ञापनपत्र नयाँ शक्ति पार्टी नेपालका संरक्षक परिषद सदस्य बिभाग प्रमुख राजु नेपाली, केन्द्रिय कार्यकारी सदस्य दलमर्दन कामी ओखलढुंगाका पार्टी सहसंयोजक सन्त घतानी लगायतका नेताको टोलीले बुझाएको हो । विभागले आयोग बनेको यत्तिका वर्ष वितिसक्दा पनि कुनै काम नभएको भन्दै ‘कि सास दे कि लाश दे’ भनिरहेका वेपत्ता परिवारको माग तत्काल संवोधन गर्न आग्रह गरेको छ ।
विभागले वेपत्ता परिवारलाई तत्काल क्षतिपूर्ति दिनुपर्ने, उनीहरुका छोराछोरीलाई रोजगार र निःशुल्क शिक्षाको ब्यवस्था राज्यबाट गर्न माग गरेको छ ।
“








