यी हुन् अल्टिच्युड एयरको हेलिकोप्टरमा सवार
“
भाद्र २३ काठमाडौं । गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङ र नुवाकोटको सिमानामा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुल्न अाएकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेका छन् ।
हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् ।
विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले पाइलटसहित ७ जना यात्रु सवार हेलिकप्टर ८: ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुनुपर्ने भएता पनि अहिलेसम्म ल्याण्ड नभएको जानकारी दिए।
उनका अनुसार हेलिकप्टर खोजीका लागि सेनाको हेलिकप्टर परिचालन गर्न लागिएको छ। यसअघि एक पटक अल्टिच्युडकै हेलिकप्टर खोजी गरेर फर्किएको थियो।
धादिङका डिएसपी श्यामकुमार महतोले अहिलेसम्म हेलिकप्टरबारे कुनै जानकारी नआएको बताए। उनले यताबाट हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरेको बताए।
यसैगरी नुवाकोटका प्रहरी जवान राजेश कुमार यादवले हेलिकप्टर दुर्घटनाको एकिन नभएको बताए। उनका अनुसार जुन ठाउँमा हेलिकप्टर छ भन्ने आशंका गरिएको छ त्यो ठाउँ एकदम विकट छ र पुग्न अझै २/३ घण्टा लाग्छ । साे क्षेत्रमा डिएसपीकाे नेतृत्वमा खाेजी टाेली गएकाे छ ।
“