माथिल्लो कर्णालीको ५ सय मेगावाट बिजुली बङ्गलादेशले किन्ने

“काठमाडौं, भदौ २३ । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत किन्ने निर्णय गरेको हो ।
बङ्गलादेशको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई बङ्गलादेशको विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले उक्त आयोजनाको विद्युत् खरिद गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी गराएका हुन्।
अहिले दुई पक्षबीच खरिद दरलगायत अन्य प्राविधिक पक्षको टुुंगो लाग्न बाँकी छ । जिएमआरले आयोजनाको विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत निगमलाई बिक्री गर्ने र उसले बङ्गलादेशमा बिक्री गर्न लागेको हो । जिएमआरले माथिल्लो कर्णालीको विद्युत् बिक्रीका लागि बजार सुनिश्चित गर्न नसक्दा अहिलेसरम्म वित्तीय व्यवस्थापन गर्न सकिरहेको छैन ।
लगानी बोर्डले मााथिल्लो कर्णाली जलविद्युत् आयाजनको वित्तीय व्यवस्थापनका लागि दोस्रो पल्ट थपेको म्याद आगामी असोज २ गते सकिँदैछ । लगानी बोर्ड र जिएमआरबीच २०७१ असोज ३ गते आयोजना विकास सम्झौता ९पिडिए० अनुसार माथिल्लो कर्णालीका वित्तीय व्यवस्थापन दुई वर्षभित्र अर्थात ३ असोज ०७३ मा गर्नुु पर्ने थियो । तोकिएको समयमा लगानी जुटाउन नसकेपछि बोर्डले आयोजनाको म्याद थप्दै आएको छ । आयोजनाको अनुमानित लागत एक खर्ब ५० अर्ब (एक अर्ब ५० करोड अमेरिकी डलर) छ ।
माथिल्लो कर्णालीबाट नेपालले १०८ मेगावाट ऊर्जा तथा २७ प्रतिशत स्वपूँजी प्राप्त गर्नेछ । वर्षभरिमा तीन महिना मात्र पूरा क्षमतामा चल्ने गरी नमूना तयार गरिएको उक्त आयोजना ‘निर्माण, स्वामित्वग्रहण, सञ्चालन र हस्तान्तरण ९बुट०’ मोडलमा बन्न लागेको हो । आयोजना ३० वर्षपछि सरकारलाई चालू अवस्थामै हस्तान्तरण गर्नुु पर्ने छ ।”








