तीजः सामाजिक रूपान्तरणका लागि मनाउँ

“
तीजलाई हिन्दु नारीको महान् चाडका रुपमा लिइन्छ । तीज परापूर्वकालदेखि परम्परागत रुपमा नेपाल र भारतका हिन्दु महिलाले मनाउँदै आए पनि हाल आएर संसारका विभिन्न देशमा रोजगारी तथा अन्य सिलसिलामा रहेका महिलाले मनाउने गरेको पाइन्छ ।
हामीले निरन्तर रुपमा मनाउँदै आएका प्रायः जसो चाडलाई सही प्रकारले मनाउन सक्यौँ भने त्यसले सकारात्मकता ल्याउनुका साथै सामाजिक रूपान्तरणका कार्यमा पनि सक्रिय हुनु आवश्यक छ ।
समय बदलिएको छ भन्दैमा तीज आउन हप्तौ बाँकी छँदै तीजको तडकभडक देखाउनु राम्रो हो त ? बजारमा तीजको नाममा विभिन्न संस्थाहरुले समेत चन्दा उठाउन थालेका छन् । अहिले जनप्रतिनिधिहरु र सरकारी कर्मचारीहरुले समेत स्थानिय तहको पैसाबाट तीज मनाउने प्रचलन बढ्दो छ । कस्तो परम्परा भित्र्याउँदैछन् हाम्रा जनप्रतिनिधिहरुले ? यसरी तीज पर्व चन्दा उठाएर गरिनु राम्रो हो र ? तीजलाई तडकभडक नगरी मनाउन सकिन्न र ?
बजारमा तीजको नाममा विभिन्न संस्थाहरुले समेत चन्दा उठाउन थालेका छन् । अहिले जनप्रतिनिधिहरु र सरकारी कर्मचारीहरुले समेत स्थानिय तहको पैसाबाट तीज मनाउने प्रचलन बढ्दो छ ।
अहिले पार्टीपिच्छेका महिला सङ्गठनहरूले छुट्टै, टोलमा भएका संस्थाहरूले आफ्नै, व्यावसायिक संस्थाहरूले आ–आफ्नै आयोजनामा कार्यक्रम गरेर तीज मनाउने गरेका छन । तीजमा खानपिन र नाचगानका कार्यक्रमहरूमा मात्रै सीमित नभएर सामाजिक रूपान्तरणका कार्यमा पनि त्यत्तिकै सक्रिय हुनु आवश्यक छ ।
चाडबाडलाई प्रगतिशील बनाउन अपरिहार्य देखिन्छ । दशैं, तिहारजस्ता चाडहरूको निश्चित समय भए पनि तीज चाहिँ जहिलेदेखि मनाए पनि हुन्छ भने झैं गरेर मनाइन थालिएकोले पनि यसको तडकभडक बढेको हो ।
सुनका गहनाले झराझुट्ट हुनैपर्ने जस्ता विकृतिहरूबाट भने यो चाडले अब मुक्ति पाउनै पर्छ । पोसाक र गहना प्रदर्शन होइन दुःख भुल्ने, मनोरञ्जन लिने र परिवर्तनका लागि दबाव दिने पर्वका रूपमा तीज अघि बढ्नुपर्छ ।
एक्काइसौं शताब्दीको मानव सभ्यता भए पनि अहिले विभिन्न चाडबाड, रीतिरिवाज संस्कृतिको नाममा हुने गरेका क्रियाकलापहरू हाम्रो समाजको लागि अपाच्य छन, यो यथार्थ हो । एक जमानामा तीजको महत्व फरक प्रकारको रहेको थियो । माइती जान, राम्रो खान, राम्रा लुगा लगाउनका लागि कुनै चाड नै कुर्नुपथ्र्याे । त्यसैले तीजको महत्व वर्ष दिनमा एकपटक माइतबाट लिन आउने, जाने साथै सबै दिदीबहिनी, साथीसंगी जम्मा हुने र वर्ष दिनभरि घरमा भोग्नुपरेका दुःख–पीडा गीतको माध्यमबाट व्यक्त गर्ने र मनलाई हलुका बनाउने प्रचलन थियो ।
तीजको बेलामा सबैभन्दा महँगो साडी कसले लगाउने, सबैभन्दा महंगा गहना कसले लगाउने भन्ने होडबाजी चलाउने र अनगिन्ती पैसा केवल तीजका लागि खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
तीजको महत्व पहिले र अहिलेमा धेरै फरक छ भन्नृुको अर्थ यसलाई हामीले जुन रुपमा मनाउन खोजिरहेका छौं, यसलाई परिवर्तन गर्ने नाउँमा वर्ष दिनभरि खान–लाउन कुनै समस्या नभए पनि तीजको बेलामा सबैभन्दा महँगो साडी कसले लगाउने, सबैभन्दा महंगा गहना कसले लगाउने भन्ने होडबाजी चलाउने र अनगिन्ती पैसा केवल तीजका लागि खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ । यो गलत प्रवृत्ति हो । यसलाई हामी सबैले रोक्न आवश्यक छ ।
हामी राम्रो खान, लाउन नपाएका कारणले पछाडि परेका हौइनौँ । हामी त शिक्षा, दीक्षा लगायत अन्य धेरै प्रकारका अत्यावश्यकीय अधिकारबाट वञ्चित हुनुपरेकाले पछि परिरहेका छौँ । एकातिर महिलासँगै पुरूषले पनि तीज मनाउन थालेका छन् । सँगै बसेर तीजका गीत गाउने, नाच्ने गरेको पाइन्छ, तर, सँगै गीत गाउने नाममा तीजका गीतमा छाडा दोहोरी गीत गाउनु, अश्लीलता भित्र्याउनु पनि विकृति हो ।
यसैगरी, हिजोआज महिलाले दरखाने नाममा धेरै दिन अगाडिदेखि पालो गरी–गरी होटल, रेस्टुरेन्ट र सार्वजनिक स्थलमै लाखौं पैसा खर्च गर्ने प्रचलन आएको छ । यसले हुनेखानेलाई त कुनै गाह्रो नपर्ला तर, कम आय भएका तथा हुँदा खानेलाई अरुसँग होडबाजीले झन् समस्या थपिएर जान्छ ।
समाजमा एउटा भनाइ रहेको छ–‘पुरुषलाई भ्रष्टाचारी बनाउनमा मुख्य भूमिका महिलाको हुन्छ’ भन्ने । एकातिर महिलाहरुले यो धारणा गलत हो भन्छन । पुरूषले आफूले गरेको गल्तीको दोष पनि महिलालाई लगाउँछन् भन्दै गर्दा तीज वा अन्य जुनसुकै बहानामा सकी नसकी अरुको देखासिकी गर्नाले यो सामाजिक भनाइलाई पनि चरितार्थ गराउन पुरूषको जोड नरहला भन्न सकिन्न । वर्षदिनमा आउने चाड पक्कै हर्सोल्लासका साथ मनाउनु पर्छ । तीजले दिने सांस्कृतिक, सामाजिक सन्देश सकारात्मक छन् । ती कुरालाई ग्रहण गरेर नकारात्मक विचार र परम्परालाई निमिट्यान्न पार्न आम दिदिबहिनीहरुको ठूलो हात रहेको हुन्छ ।
अन्त्यमा सबै दिदीबहिनीले तीजलाई प्रगतिशील प्रकारले मनाऔँ भन्दै तीजको शुभकामना ।
“








