अब मालपोत तथा नापी कार्यालयमा सरल भाषाका फारम लागू हुने

काठमाडौँ, भाद्र २१ । सेवाग्राहीको सुविधालाई ध्यानमा राखी मालमोत तथा नापी कार्यालयमा सरल भाषाको फारम लागू गरिने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत तथा नापी कार्यालयमा जग्गासम्बन्धी काम गर्न सरल भाषाको फारम लागू गर्न थालिएको जानकारी दिइन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भनिन्, ‘झन्झटिला ठूला फारामको सट्टा सेवाग्राही आफँैले भरेर काम गर्नसक्ने खालको सानो तर सरल भाषाको फारम लागू गर्न थालिएको हो ।’

‘ठूला फारममा सेवाग्राहीले तेस्रो पक्षको सहयोग लिनुपर्दछ, जसले गर्दा उनीहरुलाई अतिरिक्त रकम दिनुपर्ने बाध्यता छ’, मन्त्री अर्यालले भनिन्, ‘सेवाग्राहीले आफैंले भर्नसक्ने खालको फारम अब लागू गर्दछौँ, यसबाट सेवाग्राहीलाई अनावश्यक खर्चे व्यहोर्नु पर्दैन ।’

मन्त्री अर्यालले पहिलो चरणमा आगामी हप्ताबाट अनलाइन प्रणाली लागू भएका ३० वटा मालपोत तथा नापी कार्यालयमा ती सानो साइजका फारम भर्ने व्यवस्था लागू गरिन लागेको उल्लेख गर्दै यो व्यवस्था लागूभएपछि तेस्रो पक्षको सहयोग लिनुनपर्ने र विचौलियाकोसमेत अन्त्य हुने बताइन् ।

नागरिकको बढी भीडभाड हुने कार्यालयको बेथितिलाई रोक्न मन्त्रालयले विशेष अभियान सञ्चालन गर्न लागेको छ, उनले भनिन्, ‘आफ्नो मातहतका १३१ कार्यालयमा चाँडै नै अनलाइन प्रणालीबाट सेवा दिन थालिने छ ।’

मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालय सुधारका लागि हालै ११ बुँदे निर्देशनसमेत दिइएको बताउँदै केही महिनाभित्रमा नै जनताले अनुभूति गर्ने खालको काम आफूले गर्ने धारणा व्यक्त गरिन् ।

नयाँ बन्न थालेको भूमि विधेयकमा जमीन नभएका दलितलाई समेत एक पटकका लागि जग्गा दिने व्यवस्था गरिएको जानकारी दिदैं उनले नापी कार्यालयले प्रकाशन तथा प्रमाणित गरेको नक्सामात्र प्रयोग गरिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =