अति आदर्श र अति त्यागको शिकार भएको ‘मेरी मामु’

काठमाडौँ, भदौ २१ । यो साता बाल मनोविज्ञानको नाममा एउटा फिल्म आयो, ‘मेरी मामु’ । मनोविज्ञान र संवेदनाको सतही कुरालाई बोकेर अघि बढेको फिल्मले फिल्मभरि संवेदना नै व्यक्त गर्दैन । कमजोर कथा र कमजोर कथ्य शैलीका कारण फिल्मले उठाउन सक्ने बाल मनोविज्ञान र संवेदनाको विषय नै हराएको छ । यद्यपि यसमा बाल मनोविज्ञानको दृष्टिकोणले स्थापित गर्न सक्ने सवालहरु धेरै थिए । त्यसमा निर्माण पक्ष चुकेको छ । व्यक्तिको रुपान्तरण कठीन कुरा हो । यो हम्मेसी हुने कुरा पनि होईन ।

जादुको छडी घुमाएर हुने पनि होईन । तर, लाग्छ नेपालका निर्देशकहरुसँग यो जादुको छडी छ । नेपाली फिल्मका चरीत्रहरुमा निर्देशकले बारम्बार त्यही जादुको छडी घुमाएकै भरमा रुपान्तरण भएका दृश्यहरु नै हामीले बारम्बार हेर्नु परिरहेको छ ।

फिल्ममा ‘टाईम एण्ड स्पेस’ को ठूलो महत्व हुन्छ । ‘मेरी मामु’ मा निर्देशकले त्यो कुरा महशुश नै गर्न नसकेको भान हुन्छ । फिल्मको समय कहिलेको हो र कति हो भन्नेमा पूर्णतया अस्पष्ट छ । त्यस्तै, फिल्मले स्पेश पनि सिर्जना गर्दैन । गरेको स्पेश पनि प्रष्ट छैन, जसले दर्शकलाई नै अस्पष्ट बनाउँछ ।

फिल्ममा भाषाले महत्वपूर्ण स्थान खोज्छ । खासगरी, फिल्ममा दुई थरी भाषा हुन्छन् । एउटा फिल्ममा बोलिने भाषा अर्को फिल्मले बोल्ने भाषा । फिल्ममा बोलिने भाषाले चरीत्रहरुलाई डिफाईन गर्न मद्दत गर्दछ, चरीत्रहरुलाई अझ मजबुत बनाउँछ ।

तर ‘मेरी मामु’मा प्रयोग गरिएको भाषाले चरीत्रलाई साथ दिँदैन । चरीत्रलाई साथ नदिएको भाषाले चलचित्रलाई पनि साथ दिँदैन । त्यसैले ‘मेरी मामु’ले भाषाको साथ पाएको छैन । फिल्मले बोल्ने भाषाको दृष्टिकोणबाट मेरी मामु अझ कमजोर बनेको छ । सम्भावनाका धेरै ठाउँमा भएतापनि सिनेम्याटीक तत्वको समुचित उपयोग गर्नबाट चुकेका छन् निर्देशक ।

फिल्मको सबैभन्दा कमजोर पक्ष यसका कलाकारहरु हुन् । फिल्म प्रेम, आकाश, ममता र मनिषा बीचमै फन्को मार्छ । बाल कलाकारका रुपमा प्रेम निरस लाग्छन् ।

उनमा विभिन्नता (भेरिएसन) देखिदैन । यद्यपि उनलाई ‘फ्ल्यासब्याक’मा फरक बनाउन सकिने ठाउँ थियो । त्यो अवसरको फाईदा लिनबाट निर्देशक चुकेका छन् । आकाशमा हिरो हुने सम्भावना त देखिन्छ तर उनले अझै धेरै मिहेनत गर्नुपर्छ । यति मात्रले त ‘आयो, तर गएको पत्तो पनि नहुन सक्छ’ । ममता र मनिषा औसत छन् । नेपाली फिल्मले धेरै विविधता खोजिरहेको छ । त्यो आवश्यकता महशुश गर्ने हो भने ती दुवै नेपाली फिल्ममा आउन सक्छन्, ठाउँ खालि छ । अब खालि ठाउँ भर्ने मात्र कि आएर कब्जा नै गर्ने हो, उनीहरु मै भर पर्छ ।

फिल्ममा एउटा दृश्य होईन, सट मात्र पनि महत्वपूर्ण हुन्छ । एउटा सिन त हो नि भनेर जो पायो त्यहीलाई छनौंट गर्ने मुख्र्याई अरुले जस्तै मेरी मामुले पनि दोहोर्याएको छ । कलाकारका नाममा त्यस्ता बुख्याँचाहरुले नै फिल्मलाई कमजोर बनाउँछन् ।

एउटा सिन त हो नि भनेर जो पायो त्यहीलाई छनौंट गर्ने मुख्र्याई अरुले जस्तै मेरी मामुले पनि दोहोर्याएको छ ।

फिल्ममा काठमाण्डौबाट देवघाट गएको दृश्य छ । प्रि–क्लाईमेक्सको उक्तः दृश्य झण्डै झण्डै सडक विभागको बृत्तचित्र बनेको छ, तर सिम भञ्ज्याङ्ग, दामन, टिस्टङ्गु, पालुङ्गको रमणीय र मोहक दृश्यहरुको सुन्दर छायांकन र दृश्य स्वयम्को सुन्दरताले त्यो बिर्साउँछ ।

फिल्ममा धेरै ठाउँमा ‘कन्टीन्युुटी’ को समस्या छ । फिल्ममा सबैभन्दा सचेत हुनुपर्ने ठाउँ नै त्यही हो । क्यान्सरको अन्तिम स्टेजमा पुगेको भनिएको मनिषालाई विषको असरबाट च्वाट्टै मुक्त पार्न सक्नु नाटकीय छ । मर्न भनेरै नेपाल आएको भनिएको मनीषाको क्लाईमेक्स सम्मको सक्रियतालाई दर्शकले बाध्यतावश स्वीकार गर्नुपर्ने अवस्था छ ।

बाल मनोविज्ञानको तर्कका रुपमा नकारात्मकतालाई प्राथमिकता दिईएको छ, तर नकारात्मकताका साथसाथै सकारात्मकता पनि संगसंगै आउँछ भन्ने भुलिएको छ । त्यसैले दृश्यबन्धमा विश्वास लाग्दैन । दर्शकले विश्वास गर्दैनन् ।

एकाकीपना बालबालिकाका लागि मात्र होईन, वयस्क र प्रौढहरुलाई पनि नकारात्मक बनाउन सक्ने तत्व हो । र, यो खतरनाक पनि हुन्छ । फिल्महरुमा यसको जथाभावी प्रयोगले त्यो अझ दोब्बर खतरनाक बन्न सक्छ । त्यसैले निर्देशक यसमा सचेत रहन जरुरी हुन्छ ।

‘मेरी मामु’ फिल्म बाल चरीत्र ‘प्रेम’को दृष्टिकोणबाट शीर्षक राखिएको छ । तर फिल्ममा ममता र मनीषाबाट ‘न्यारेशन’ गराईएको छ । त्यसैले फिल्म आधा भन्दा बढी ‘मेरी मामु’ भन्दा पनि ‘मेरी साथी’ बनेको छ । फिल्म प्रेमको दृष्टिकोणबाट बनाउन सकेको भए सफल हुने थियो र सार्थक पनि । शीर्षक र कथाले प्रेमको दृष्टिकोणबाट कथा वाचनको माग गरेको छ । तर, त्यता निर्देशकको ध्यान पुगेन ।

‘मेरी मामु’ अति आदर्श र अति त्यागको शिकार बनेको छ । अहिलेको समयमा यो विश्वसनीय लाग्दैन । जस्तो कि, सन् १९८० को दशकका भारतीय मेलोड्रामाहरु ऊ बेलामा सुपरडुपर हिट भएका भए पनि अहिले ती विश्वसनीय लाग्दैनन् नि । तर, हामी कथा, कथा वाचन र चरित्रको उही प्रभावबाट मुक्त हुन सकेका छैनौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =