आममाफी पाएका ६ सय नेपाली स्वदेश फर्किए

“
काठमाडौँ, भाद्र १८ । युएयी सरकारले एक महिना अघि मात्र लुकेर बसेका बाह्य कामदारलाई आममाफी दिने निर्णय गरेपछि अवैधानिक बसेका नेपाली पनि स्वदेश फर्कन लागेका छन् । गत साउन १६ गतेदेखि खुल्ला गरिएको आममाफीमा ६ सय नेपालीहरु स्वदेश फर्किसकेका त्यहाँको राजदुतावासले जनाएको छ ।
विभिन्न कारण गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई युएईले सरकारले तीन महिना आममाफीको समय दिएको छ । आममाफी पाएका सबै नेपाली स्वदेश फर्किसकेका छैनन् । तर कतिपय नेपाली भने भिसा थपेर बैधानिक बन्ने प्रक्रियामा नै छन् ।
त्यहाँ धेरैजसो नेपाली महिला कामदार छन् । धेरैजसो कामदारहरु घरेलु कामदारका रुपमा काम गरिरहेका छन् ।
आममाफीको सदुपयोग गर्दै नेपाल फर्कन चाहने ५६ जनाले यात्रा अनुमतिपत्र लिइसकेका छन् । युएईको दुवई, सारजाह, अबुधाबीको सहामा, रुविस र अलऐनमा युएईले आममाफी सेन्टर स्थापना गरी काम गरिरहेका छन् । त्यही सेन्टरमा नेपाली दूतावास आबुधाबीले पनि घुम्ती सेवा मार्फत यात्रा अनुमति दिइरहेको कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले बताए।
“








