बेलायतमा ‘डिसाबिलिटी एड इभिनिङ’ कार्यक्रममा सहभागीहरु भावविह्वल भए

“
बेलायत, भाद्र १८ । गैरआवासिय नेपाली संघ बेलायतले आयोजना गरेको ‘डिसाबिलिटी एड इभिनिङ’ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । गत शनिबार सम्पन्न च्यारिटी कार्यक्रम अल्डरसटको एम्पायर हलमा भव्यताका साथ सम्पन्न भएको हो ।
कार्यक्रममा फरक क्षमता भएकाहरुले प्रस्तुत गरेको नाटक हेरेर सबै सहभागीका आँखा रसाएका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथिमा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी रहेका थिए ।
उनले कार्यक्रममा संवोधन गर्दै बेलायतमा रहेका नेपालीहरुले सामाजिक क्षेत्रमा गरेको योगदानको मुक्त कण्ठले प्रसंसा गरे । उनले एनआरएन यूकेको बर्तमान कार्यसमितिले गरेका सामाजिक काम र सहयोग प्रसंशनिय रहेको भन्दै बेलायत स्थित नेपाली दुतावास सहकार्य गरेर अगाडी बढ्न प्रतिबद्ध रहेको बताए । ‘एनआरएन यूकेले ऐतिहासिक कार्यको थालनी गरेको छ, यो कार्यमा हातेमालो गरेर अगाडी बढ्न दुताबास सदैव तत्पर रहने छ ।’ उनले भने ।
कार्यक्रममा बोल्दै एनआरएन यूकेका उपाध्यक्ष तथा च्यारिटी विभागका प्रमुख प्रेम गाहा मगरले प्रवासमा रहेका नेपाली विच भातृत्व जगाएर शारीरिक रुपमा कमजोर भएका ब्यक्तिहरुलाई सहयोग गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
उनले कार्यक्रममा फरक क्षमता भएका ब्यक्तिहरुको प्रस्तुति देखेर आफु गौरवान्तिक भएको समेत जिकिर गरे । ‘हामीले शारीरिक रुपमा कमजोर भएकालाई सहयोग गर्न यो कार्यक्रम गरेपनि उहाँहरुको प्रतिभा देखेर उहाँहरु सवलाङ्ग भन्दा कमजोर हुनुहुन्न भन्ने देखियो, कमजोर त्यो हुन्छ जसले अरुको राम्रो कामको समेत नेगेटिभ कुरा काटेर हिँड्छ ।’ उनले भने ।
नेपालबाट कार्यक्रममा सहभागी हुन पुगेका नेपाल तरूण दल सुनसरीका सभापति सिजन गुरूङले शारीरिक रूपमा कमजाेर भएकाहरूले प्रतिभा र अात्मविस्वास देखेर उनीहरू एउटा सवलाङ्ग भन्दा बढि सक्षम रहेकाे बताए । उहाँहरुको प्रतिभा देखेर म एकदमै गौरवान्तिक भएको छु, हामी सवलाङ्गले समेत देश र समाजका लागि केहि गर्नुपर्दछ भन्ने भाव पैदा भएको छ, यस्तो महान कार्यक्रममा म सहभागी हुन पाउँदा अत्यन्त गौरब लागेको छ ।’ उनले भने ।
एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामीले प्रवासमा रहेका नेपालीलाई एउटै मञ्चमा उभ्याउन र नेपाल तथा नेपालीको विकासका लागि एनआरएन यूके सदैव क्रियाशिल रहने बताए । शारीरिक रुपले अशक्तहरुलाई सहयोग गर्ने महान उद्देश्य लिएर आयोजना गरिएको कार्यक्रममा शारीरिक रुपमा अशक्त रहेकाहरुले आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एक खुट्टाले नृत्य गरेर नाम कमाउन सफल कलाकार निलम ढुंगाना, अफगानिस्तानमा दुवै खुट्टा गुमाएर पनि साहसिक रुपमा विभिन्न पर्वतारोहण पूरा गरेका किर्तिमानी भूपू गोर्खा हरि बुढा मगरदेखि बेलायती सेनामा सेवाकै क्रममा अपांगताको शिकार बनेर पनि समाजमा विभिन्न उदाहरणीय कार्यहरु गर्दै आएका विनोद बुढाथोकी, नेत्र राना र शिव थजाली, मिसेस यूके नेपालकी विजेता अमृता गिरी लगायतले आफ्ना विशेष प्रस्तुति रहेको थियो ।
“








