जनताले कर तिर्ने बानीको विकास गर्नैपर्छ– अर्थमन्त्री खतिवडा

काठमाडौँ, भदौ १८ । अर्थमन्त्री युवराज खतिवडाले जनताले कर तिर्ने बानीको विकास गर्नैपर्ने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै डा. खतिवडाले स्थानीय तहको विकास गर्न आवश्यक रहेकोले जनताले कर तिर्ने बानीको विकास गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘स्थानीय तहको विकास गर्नु जरुरी रहेकाले जनताले कर तिर्ने बानीको विकास गर्नु पर्छ, जनप्रतिनिधिले जनताले तिरेको करको सदुपयोग गर्नुपर्छ ।” करका बारेमा जनता सचेत भए त्यसको दुरुपयोग रोकिने उनको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले कर लगाउने अधिकार स्थानीय तहको भएतापनि कानून र ऐनभन्दा बाहिर गएर धान्नै नसक्ने गरी कर लगाउन नपाउने बताए ।

तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नेमा उनले जोड दिए ।

‘एकल विन्दुबाट कर उठाउनुपर्नेमा धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘अब धेरै दिन यस्तो रहँदैन, एउटै ठाउँमा कर बुझाए पुग्ने बनाउँछौँ ।”

आम्दानी र क्षमताभन्दा बढी कर बढाउन नहुने भन्दै उनले करको दायराभन्दा दर बढेकाले कानून बाहिर गएर जथाभावी कर लगाउन नहुने बताए ।

‘कर लगाउने अधिकार स्थानीय तहको भए पनि कानून र ऐनभन्दा बाहिर गएर धान्नै नसक्ने गरी कर लगाउन पाइदैन,’ डा खतिवडाले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *