चलचित्र रोजीले मिरुनालाई स्थापित गर्ला त ?


“
धरान, भाद्र १७ । गोपीकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टद्वारा निर्मित नेपाली चलचित्र ‘रोजी’ले मुलुकका ८ मुख्य सहरमा कन्सर्ट गर्दै देशब्यापी प्रचारप्रसार गरेकोमा टोली धरान आइपुगेको छ ।
भाद्र २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र प्रचारप्रसारका लागि निर्माण टिमले देशका प्रमुख आठ सहरमा लाइभ कन्सर्टको आयोजना गरेको हो ।
भाद्र १४ बाट पोखराबाट प्रचारात्मक लाइभ कन्सर्ट गर्दै देश दौडाहामा हिँडेको टोली पुर्वको ईटहरी र धरान आईपुगेको हो । आज आइतबार रोजीका टीमले धरानको भानुचौक र इटहरीमा लाइभ कन्सर्ट गरेका छन् ।
लाइभ कन्सर्टपछि आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । यसअघि लालपूर्जा चलचित्रबाट डेब्यू गरेकी नायिका मिरुना मगरले यो चलचित्रबाट आफुले धेरै आशा गरेको बताइन् । उनी धरानकी नाट्य क्षेत्रकी चर्चित कलाकार शशी थापा सुब्बाकी छोरी हुन् ।
उनले डेब्यू चलचित्रमा देखिएका कमीकमजोरी यसपटक सुधार्ने कोशिष गरेको बताइन् । भने, चलचित्र क्षेत्रमा आफ्नो उपस्थिति जनाउन रोजी महत्वपूर्ण हुने बताइन् । चलचित्रका नायक प्रदीप खड्काले क्राइम थ्रिलर ड्रामा जनरामा बनेको रोजीले दर्शकलाई नयाँ स्वाद पस्कने बताए ।
रोजी टीमले भोली दमक र बिर्तामोडमा लाइभ कन्सर्ट गरेर काठमाडौं फर्कने चलचित्रका प्रोडक्सन मेनेजर बुद्धि मगरले जानकारी दिए ।
क्राइम थ्रीलर भनिएको यो चलचित्रमा प्रदीप खड्का, मिरुना मगरसँगै प्रमिता राणा, कर्मा शाक्य बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ, पल्पसा डंगोल लगायतको मुख्य भुमिका रहेको छ । फिल्मलार्इ निरक पाैडेलले निर्देशन गरेका छन् ।
रामकहानी र राेजीकाे भिडन्त
नेपाली फिल्म इन्डष्ट्रिमा फिल्म जुध्नु जुधाउनु नाैलाे कुरा हैन । भाद्र २२ मा राेजी र नायिका पुजा शर्माकाे रामकहानी एकै पल्ट रिलिज हुँदैछन् । नेपाली चलचित्रकाे बजार सानाे भएकाे अवस्थामा यसरी चलचित्र जुधाउनु निर्माताकाे लगानी धरासायी बनाउनु पक्कै हाे ।
नायिका पुजा शर्माकाे रामकहानीमा हास्यकलाकारहरूकाे डफ्फा रहेकाे छ । कमेसी जनरामा बनेकाे रामकहानीले राेजीलार्इ पछार्ला वा क्राइम थ्रिलर जनरामा बनेकाे राेजीले रामकहानीलार्इ डुवाउला हेर्न बाँकी छ ।
रामकहानीलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा अभिनेत्री पूजा शर्मा, आकाश श्रेष्ठ, केदार प्रसाद घिमिरे, विल्सन बिक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायत कलाकारको अभिनय रहेको छ ।
“
