स्वदेश फर्के श्रीलंकाका राष्ट्रपति सिरिसेना


“
काठमाडौँ, भदौ १७ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौँथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका श्रीलंकाली राष्ट्रपति मैत्रिपाल सिरिसेना स्वदेश प्रस्थान गरेका छन् ।
श्रीलङ्काका राष्ट्रपति सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आइतबार अपराह्न स्वदेश प्रस्थान गरेका हुन् ।
राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिदाइ गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उनकी धर्मपत्नी जयन्ती पुष्पकुमारी यही भदौ १६ गतेदेखि नेपालको औपचारिक सद्भावना भ्रमणमा थिए ।
सिलसिलामा राष्ट्रपति सिरिसेना नेतृत्वको प्रतिनिधिमण्डल यही भदौ १३ गतेदेखि नेपाल भ्रमणमा थियो ।
“
