ठेला चलाएरै घर–घडेरी जोडे हरिलालले
“
भरतराज शर्मा (गोपाल)/धरान, भदौ १७ । गर्नेलाई जहीँ तहीँ, नगर्ने लाई काहीँ न काहीँ भन्ने नेपाली प्रचलित उखानझैँ एक युवाले सानो तिनो कामबाटै घर घडेरी जोडेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं १८ लविपुरका ३५ वर्षीय हरिलाल राजवंशी आफनो पेशाप्रति सन्तुष्ट पनि छन् ।
सामान्य परिवारका हरिलालले ईटहरीमा ठेला चलाएको ११ वर्ष पुगिसक्यो । उनले ठेला मात्र चलाएका छैनन्, त्यसबाट राम्रो कमाई पनि गरेका छन् । ठेला चलाएरै दैनिक ३ देखि ४ हजार सम्म कमाउने राजवंशीले आठ जनाको परिवार पाल्दै आएका छन् ।
ईटहरीकै वालग्रममा रहेको आरजु सप्लार्यसबाट उनी बिहानीको शुरुवात गर्छन् । शुक्रबार बिहान सिमेन्ट लोड गर्दे गर्दा भेटीएका हरिलालले आफनो दैनिकी बिहान उठेदेखि बेलुकासम्म ठेलामा सिमेन्ट ढुवानी बित्ने गरेको बताए ।
२०६४ सालमा मोरङ्गको अमररदहबाट सुनसरीको इटहरी आईपुगेका हरीलाललाई सुरुवाती समयमा इटहरीमा टिक्न साह्रै गाह्रो थियो ।
एक महिना सेक्युरिटी गार्ड र एक वर्ष कथ्था ङ्खयाक्ट्रीमा मजदुरी समेत गरे उनले त्यही मजदुरीबाट आएको पैसाले उनले जसोतसो २०६६ सालमा ४ हजार रुपैयाँमा पुरानो ठेला किनेर काम सुरु गरे । तर ७५ सालसम्म आईपुग्दा उनले पाँच वटा ठेला फेरिसकेका छन् ।
ती पाँच ओटा ठेलाबाट कमाएर उनले लविपुरमा आठ लाखमा आठ धुर घडेरी जोडेर चार कोठाको घर समेत जोड्न भ्याए ।
ठेलाकै भरमा उनी मोटरसाइकल समेत चढ्ने भए । ठेलाकै कमाईले उनले १ लाख ७० हजार पर्ने हिरोहोण्डा स्पीलेन्डर मोटरसाईकल किने । घरदेखि हार्डवेयरसम्म जान र घर फर्किन राजवंशी मोटर साईकलको प्रयोग गर्छन् । उनले दुई छोरा–छारीलाई बोर्डिङ्ग स्कुलमा पढाइरहेका छन् ।
हेर्दा नपत्याउने हरिलाल कामलाई कहिले पनि सानो भन्नु हुँदैन भन्छन् । उनलाई लेबर भनेको मन पर्दैन । आफनो देशमा ठेला कुदाउदा सानो भइन्छ तर विदेशमा ट्वाईलेट सोरेर कमाएर आउदा ठुलो मान्छे हुने , आफ्नै देशमा ठेला कुदाउँदा सानो भइने ? ‘म सन्तुष्ट छु, घरपरिवारमा बसेर दिनको दुई हजार कमाउँछु’ राजवंशीले भने ।
‘घरको सबैकाम श्रीमतिले गर्छिन्, म बाहिरको काम गर्छु । परिवार मिलेर पनि होला कमाएको पैसा योजना बनाएर काम गरेपछि जेपनि हुने रहेछ ।’ उनले आफ्नो सफलता सुनाए ।
ठेलामा सिमेन्ट लगायतका सामान ढुवानी गर्दा दुरी अनुसार प्रतिबोरा २० देखी ४० रुपैयाँसम्म लिने गरेको उनले बताए ।
तीनै मजदुर हरिलाललाई समूदायले हेर्ने नजर बदल्नुपर्ने उनी बताउँछन् । यस्तो कार्य गर्ने मजदुरहरु सुनसरीको इटहरी क्षेत्रमा प्रशस्तै मात्रामा छन् भने सयौँको संख्यामा मजदुरी गराउने संघसंस्था समेत थुप्रै छन् । तर, हरिलाल राजवंशी जस्ता मेहनत गर्ने मान्छे भने कमै भेटिन्छन् ।
हरिलाल जस्तै मेहनती युवाको चाङ लाग्ने हो भने पक्कै यो राष्ट्रको पनि मुहार फेरिने छ । हो, हरिलाल जस्तै मान्छेको खाँचो छ यो राष्ट्रलाई ।
“