श्रीकृष्ण जन्माष्टमी: यसरी भएको थियो कृष्णको जन्म, यस्ता छन् उनका वाणी
“
अन्य धर्ममा केवल एक देवता (ईश्वर) हुन्छन् । तर हिन्दू धर्ममा अनेक देवी देवता छन् । सबैलाई हिन्दू धर्मालम्बीले समान रुपले नियाल्छन् र पुज्छन् ।
देवका अनेक अवतार मध्येका श्री कृष्ण, आजकै दिन अर्थात् कृष्ण शुक्लपक्ष । हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् कृष्ण । कृष्ण यस्ता देव हुन् जो १६०० गोपीनीलाई आफ्नै साथमा नचाउँथे । भनिन्छ उनी भनेपछि गोपीनीहरु मख्ख पर्थे ।
उनी सानोमा निकै चकचके स्वभावका थिए भने, दही चोरेर खान पनि सिपालु थिए ।
श्री कृष्णको जन्म र महिमा
हिन्दू धार्मीक ग्रन्थका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापरांतमा भएको थियो । यो हिसाबले श्रीकृष्णको जन्म कलीयुगको आगमन भन्दा ५०० देखि १ हजार बर्षको बीचमा भएको अनुमान गर्न सकिन्छ। हिन्दू पञ्चाङ्गका अनुसार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु ५१०० वर्ष तोकिएको छ।
भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरावासी वसुदेवकी धर्म पत्नी देवकीको गर्भबाट राजा कंशको जेल भित्र भएको थियो। देवकी राजा कंशकी बहिनी थिईन्। उनीहरू दुवै भाइ बहिनीहरू तत्कालीन मथुराका राजा उग्रसेनका सन्तान थिए।
राजा कंश देवकीको विवाहमा वशुदेव र देवकीलाई रथमा राखेर आफुले रथ हाँक्दै उनको घरमा पुर्याउन जाँदै थिए । त्यसैबेला नारदमुनी आएर कंशलाई भनेका थिए–‘जसलाई तिमी आफ्नो बहिनी ज्वाइँ भनेर पुर्याउन जाँदैछौ उनको आठौँ गर्भबाट तिम्रो मृत्यु हुनेछ।’
नारदको यो कुरा सुनेर कंश रिसले आगो भयो उसले देवकीको हत्या गर्ने मनसायले आफ्नो तरवार निकाल्यो तब वशुदेवले कंशको अघाडी हात जोडेर देवकीको गर्भबाट जती बालकहरू पैदा हुन्छन् ती सबैलाई जन्मेकै घडी कंशलाई सुम्पीदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गरेका थिए ।
त्यसपछि देवकीको गर्भबाट जति सन्ता पैदा हुन्छन् कंशले सबै मार्न थाले । सातवटा बालकहरू सबैको कंशले हत्या गरिदिए ।
त्यसपछि देवकीलाई आठौँ गर्भ रह्यो। राजा कंशले देवकीको यो गर्भबाट आफ्नो कालको जन्म हुने सोचेर गर्भ रहेको दशौँ महिनामा देवकी र वसुदेवलाई जेलमा बन्द गरेर राखेका थिए । ।तर जब श्रीकृष्णको जन्म भयो त्यसबेला कंशले राखेका पहरेदारहरूलाई मोह निद्राले ढाक्यो। उनीहरुले थाहा पाएनन् भगवान कृष्णको जन्म ।
भगवान विष्णुले पहिले त वसुदेव देवकीलाई आफ्नो चतुर्भुज अवतारको दर्शन गराए। त्यसपछी वसुदेवलाई ‘गोकुलमा नंदगोपका घरमा भरखरै मात्र एक कन्याको जन्म भएको छ। तिमी मलाई गोकुल लैजाउ त्यहाँ मलाई यशोदाको काखमा सुताएर उनको छोरीलाई ल्याएर यहाँ आउनु।’ भनि सम्झाएर अन्तध्र्यान भए।
केही छिन पछि देवकीको गर्भबाट भगवान श्रीकृष्णको जन्म भयो। भगवानको लिलानुशार वशुदेव र देवकीका सबै नेलहरू खुल्ला भए भगवान विष्णुले बताए बमोजिम वसुदेवले बालक कृष्णलाई टोकरीमा राखेर गोकुल जान हिँडे।
बाटोमा यमुनाजी पर्छन्। यमुनाले पनि भगवान श्रीकृष्णको दर्शन गर्नाको साथै वसुदेवको लागि बाटो छोडी दिईन्। केही छिनमै वसुदेव यशोदाको काखमा खेलीरहेकी कन्यालाई उठाई बालक कृष्णलाई त्यहाँ सुताएर मथुरा फर्के। तर यो कुरा यशोदालाई थाहा भएन। यशोदालाई प्रसव पिडाका कारण कन्याको जन्म भएको पनि थाहा थिएन।
यता वसुदेवले मथुरा आएर कन्यालाई देवकीको काखमा राखी जेलमा पूर्ववत बन्दी भएर बसे। केही छिनपछि बालिका जोर जोरले रुन थालिन्। यो सुनेर पहरेदारहरूको मोह निँद्रा खुल्यो । कसैले बालक जन्मेको कुरा कंशलाई भन्यो।
बालक जन्मेको कुरा थाहा पाएर कंश जेलघरमा आएर बालीकालाई देवकीको हातबाट खोसेर बाहिर गयो बालीकालाई पहिलेका बालकहरू जस्तै गरी जमीनमा पछार्दा बालीकाले आकाशमा उड्दै पापी मलाई जती कोशिस गरे पनि मार्न सक्दैनस् तँलाई मार्ने तेरो शत्रु गोकुलमा छ भनिन्।
यी बालीका महा शक्ति योगमाया दुर्गा भगवतीको अवतार थिईन् । श्रीकृष्णको जन्म हुनु धेरै अघि आठौं गर्भको रुपमा धराको अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ ।
आठौं गर्भ ज्यादै विशेष भएकोले सातौं गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर पछि त्यस गर्भलाई ईश्वरीय विधिले रोहिणीको गर्भमा बलरामको रुपमा स्थानान्तरण गरिएको थियो ।
भगवान कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए । उनले जन्म लिनु अघि देवकी र वसुदेवलाई चतुर्भुज स्वरुपम दर्शन दिएको कथा भागवतमा उल्लेख छ ।
भगवान कृष्णको वाणी– गीतासार
जब जब धर्मको हानि हुन्छ, अधर्मको वृद्धि हुन्छ त्यस बेलामा मैले आफुलाई प्रकट गरेको हुन्छु ।
जसको हृदय पवित्र छ उनीहरु धन्य छन् । किनभने उनीहरुले ईश्वरको ज्ञान प्राप्त गर्छन् ।
जसरी उदाउंदो सूर्यले रात्रिको अन्धकारलाई नाश गरी दिन्छ त्यसै गरी आत्माको ज्ञानले समस्त भ्रम निवारण हुनजान्छन् ।
जसरी जीवात्माले यस शरीरमा कौमार्य, र्यौवन, र वार्धक्य प्राप्त गर्छ, त्यसै गरी उसले आफ्ना अन्य शरीर पनि प्राप्त गर्छ । यस विषयमा ज्ञानी मोहित हुंदैन ।
जुन कार्य मेरो सेवाको रुपमा गरिन्छ, अनि त्यो पवित्र र पुनीत बन्न जान्छ ।
विषयको चिन्तन गर्ने मानिसको तत्तत विषयमा आसक्ति हुन जान्छ । आसक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पनन हुन्छ, क्रोधले अविवेक उत्पन्न हुनजान्छ । अविवेकले स्मृति भ्रम र स्मृतिभ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुन जान्छ ।
तर आत्म संयमवान मानिस रागद्वेषरहित भएर आफ्ना वशमा गरिएका इन्द्रियहरुद्वारा विषय भोग गर्दै अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्छ ।
“