‘जब अत्याचार कानुन बन्छ, तब प्रतिकार कर्तव्य बन्छ’

“
काठमाडौँ, भदौ १७ । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ ।
नेपाल चिकित्सक संघले मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउ कार्यक्रम तय गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। डाक्टरहरु पोशाकसहित सडकमा विभिन्न नारा लगाउँदै उत्रेका हुन् ।
मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले प्रदर्शनमा बोकेका प्लेकार्डहरुमाः जब अत्याचार कानुन बन्छ, तब प्रतिकार कर्तव्य बन्छ । कामेको हातले चिर्न सकिँदैन, उपचारलाई अपराध भन्न सकिँदैन, लगायतका कुराहरु उल्लेख गरिएको थियो ।
सरकार चिकित्सकको मागमा सकरात्मक नभएको भन्दै संघले आज सांकेतिक विरोध गरेको हो। माइतीघर मण्डलाबाट शुरु भएको विरोध र्याली नयाँ बानेश्वर पुगेर टुंगिएको थियो। तत्काल माग पुरा नभए कडा आन्दोलनमा उत्रने चिकित्सकहरुले चेतावनी दिएका छन्।
भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् ।
पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
“








