कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले भने– ‘रहर लाग्दैमा नेता बन्न सकिँदैन’

काठमाडौं, भदौ १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कसैलाई रहर लागेर नेता हुन नसक्ने बताएका छन् ।

अध्यक्ष निवास खुमल्टारमा शनिबार बिहान नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी नेकपामा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘कसैलाई रहर लागेर नेता हुन सक्ने होइन । इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो ।’

उनले आफूहरुले जनयुद्ध र शान्ति प्रक्रिया दुबैको नेतृत्व गरेको उल्लेख गर्दै लामो संघर्ष र बलिदानपछि देश गणतन्त्रको युगमा प्रवेश गरेको बताए ।

नेत्रविक्रम चन्द नेतृत्वको समुह परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुमा गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला संग्रौला, भ्याली ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौं जिल्ला सदस्यहरु डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौं जिल्ला क्षेत्र नं. २ बाट माधव लामिछाने र विष्णु तिमल्सेना रहेका छन् ।

पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले सबैलाई बिना पूर्वाग्रह उचित भूमिका दिइने बताए ।

उनीहरुले चन्द नेतृत्वको समुहले क्रान्तिका नाममा अराजकता फैलाउने र कार्यकर्ता अल्मलाउने मात्र कार्य गरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twelve =