पद्मावतीको इतिहास बन्दा नेपालकी योगमाया किन हराइन् ?

काठमाडौँ, भाद्र १६ । गत वर्ष मात्र भारतीय चलचित्र इन्डट्रिमा एउटा फिल्म बन्यो, पद्मावत । उक्त चलचित्र १६ औं शताब्दीकी श्रीलङ्काकी राजकुमारी ‘पद्मिनी’ को कथामा आधारित छ । पद्मावतीको सिंहाला राज्य (हाल श्रीलङ्का) का राजा गंधर्व सेन छोरी थिइन् । चित्तोर किल्लाका शासक रतन सेनलाई एउटा बोल्ने सुगाले पद्मावती र उनको सौन्दर्यको बारेमा सुनाएपछि पद्मावतीलाई पाउने चाहना हुन थाल्यो । रतन सेन पद्मावतीलाई पाउनको लागि समुन्द्र पार गरेर सिंहाला राज्य पुगे । उनले अनेकौं कठिनाइ पार गरेर भएपनि पद्मावतीलाई विवाह गरेर रानी बनाई आफ्नो राज्य चित्तोर फर्किए ।

रानी पद्मावतीको सौन्दर्यबाट जो कोही पनि मोहित हुने गर्दथे । उनी माथी नराम्रो दृष्टी लगाएको कारण रतन सेनले आफ्ना राज पुरोहित राघव चेतनलाई समेत देश निकाला गरिदिए । राघव चेतनले रतन सेनसँग दुश्मनी निकाल्नको लागि दिल्लीका सुल्तान अलाउद्दीन खिल्जीलाई पद्मावतीको सौन्दर्यको बारेमा बताइदिए । राघव चेतन कुरा सुनेर अलाउद्दीन खिल्जीले पद्मावतीलाई पाउनको लागि चित्तोर माथि आक्रमण गरे । त्यही समयमा रतन सेन कुम्बलगढका राजा देवपालसँगको लडाईमा मारीए । तर खिल्जीले चित्तोर कब्जा गर्नु अगाडि नै पद्मावती लगायतका सबै महीलाहरूले आफ्नो सतित्वको रक्षा गर्नको लागि आत्मदाह गरिसकेका थिए । अलाउद्दीन खिल्जीले चित्तोर कब्जा गरी मुस्लिम राज्य त बनाए । तर पद्मावतीलाई पाउन असफल भएका थिए ।

रानी पद्मावतीको जस्तै इतिहास नेपालमा पनि नभएको होइन् । ‘योगमाया न्यौपाने’ उनको कथा सायद कसैलाई पनि थाहा नहुन सक्छ । योगमाया एउटा यस्ती साहसी महिला थिइन्, जसले राणाकालीन समयमा नेपालमा नै पहिलोपटक महिला स्वतन्त्रताका लागि आवाज उठाएकी थिइन् ।

योगमायाको जन्म विक्रम संवत् १९२४ सालमा पूर्वी जिल्ला भोजपुरमा भएको थियो । हाल उनको जन्मस्थान नयाँ नगरपालिका षडानन्द नगरपालिकामा पर्छ । उनको जिन्दगी सामाजिक विकृति चिर्नमा नै बितेको थियो । हाल उनको कथा कुनै दन्त्यकथा जस्तै बनेको छ ।
रानी पद्मावती र उनको कथा अलि भिन्न छ । रानी पद्मावतले आफ्नो आत्मरक्षाका लागि आत्मदाह गरेकी थिइन् भने योगमायाले कठोर राणाकालबाट समाजले मुक्ति पाओस भनी वि.सं.१९९८ असार २२ गते आफ्ना भक्तजनसहित आत्मदाह गरेकी थिइन् ।

योगमाया नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूको प्रतिकका रुपमा चिनिन्छिन् । अशिक्षित भए पनि योगमाया त्यस्ती महिला हुन्, जसले आफ्ना कवितामार्फत नै समाज परिवर्तनको आवाज उठाएकी थिइन् । आफूले समाजमा जे देख्यो, त्यसलाई कवितामार्फत नै त्यसलाई उतारिदिन्थन् ।

त्यतिबेला महिलाको रजस्वला हुनु अगावै विवाह गर्ने प्रचलन थियो । उनको विवाह सात वर्षको उमेरमा रामहरी कोइराला भन्ने व्यक्तिसँग भएको थियो । विवाह के हो भन्ने महत्व बुझ्न नपाउँदै उनको श्रीमान्को विवाह गरेको दुई वर्षपछि नै मृत्यु भएको थियो ।

श्रीमानको मृत्युपछि परिवारले उनलाई तनाव दिन थालेपछि उनी भागेर तीन दिनको बाटो हिँडेर माइती पुगिन् । समय अन्तरालमा उनले माइतीबाट समेत अपहेलना सहँदै जानुपर्याे । उनी घृणा, अपनान र तिरस्कारको पात्र बन्दै गइन् ।

समय अन्तरालमा उनकोे गाउँकै एक युवकप्रतिको आकर्षण बढ्दै गयो । उसको नाम प्रजापति डोटेल थियो । उनीहरु भागेर बिवाह गरी भारतको आसाम पुगे । विवाह भएको केही समयपछि उनीहरुको छोरीको जन्म भयो । उनीहरुले छोरीको नाम नैनकला राखे ।

विवाह भएको केही वर्षपछि योगमायाले आफ्नो गाउँमा पुराण लाग्ने हल्ला सुनिन् । दुवैजना छोरी लिएर त्यहाँ पुगे । पुराणमा भनिएको थियो, ‘परस्त्री वा परपुरुष गमन गर्नाले भविष्यमा रौरवीय नर्कको यातना भोग्नु पर्छ ।’ पुराणको अर्को प्रसङ्ग आयो, ‘यदि अज्ञानवश कसैले यस्तो अपराध गरेको रहेछ र ज्ञान प्राप्त भएपछि त्यो अपराध त्याग्यो भने त्यसको पश्चाताप हुन्छ ।’

उनले पुराण सुनिसकेपछि मन परिवर्तन भयो र श्रीमानसँग छुट्टिने निर्णय गरिन् । उनी र उनको श्रीमानबीच छलफल भयो अन्ततः एकअर्काबीच छुट्टिए पनि । छोरी भने आमासँगै बस्ने सहमाती भयो ।

श्रीमानसँग छुट्टिएपछि उनको साहित्यप्रति रुचि बढ्दै गयो र कविताहरु रच्न थालिन । योगमायाले जति कविता रच्थिन उनकी छोरी नैनकला त्यसलाई कन्ठ पार्दै जान्थिन् ।

उनी जस्तै छोरी नैनकला पनि निरक्षर नै थिइन् । उनी विभिन्न ठाउँहरु घुम्न समेत थालिन् । त्यसै क्रममा उनी स्वर्गद्वारी पनि पुगिन् । त्यहाँ उनको स्वर्गद्वारीका चैतन्य महाप्रभु अभयानन्द द्वितीयसँग भेट भयो । अभयानन्द त्यतिबेला निकै प्रसिद्ध थिए । योगमाया महाप्रभुका कृत्यबाट सुरुमा नै प्रभावित बनिन् । योगमायाको आचरणले महाप्रभु पनि खुसी भए ।

उनी चैतन्य महाप्रभुबाट दीक्षित पनि भइन् । अनेक साधना गरेर योगमायाले वर्षौं वर्ष गुफामा नै बसी साधना गरिन् । जाडो दिनमा उनी आधामहिनासम्म अरुण नदीमा कम्मरसम्म डुबाएर साधनारत पनि भइन् । गर्मी महिनामा धुनी जगाएर आगाका रापसँगै उनले आफ्नो साधना प्रधानकर्म पनि गरिन् । उनलाई न जाडो हुन्थ्यो न गर्मी नैे । वास्तवमा उनले एउटा विशेषईश्वरीय शक्ति नै प्राप्त गरेकी थिइन् । कतिसम्म भने कुनैकुनै बिरामीलाई उनी आवश्यकता अनुसार नाडी समाएर र झारफुक गरेरै ठीक पारिदिन्थिन् । उनले झारफुक गरेपछि सर्पले डसेका मान्छे समेत निको हुन्थे ।

उनी धार्मिक रुपमा मात्र नभई जहानिया राणा शासनबाट समेत देश स्वतन्त्र भएको देख्न चाहन्थिन् । सतीप्रथा हटाइयोस्, जातभातको रीतिरिवाज हटाइयोस्, जनताले न्यायनिसाफ पाऊन् र शोषणरहित समाजको सृजना होस् आदि माग राख्दै योगमायाले सामाजिक परिर्वनका लागि सांस्कृतिक आन्दोलनको सुरुवात गरिन् । उनी न्याय माग गर्दै पैदल हिँडेर काठमाडौंसम्म आइपुगेकी थिइन् ।
त्यतिखेर योगमायाका मागहरू पुरा गर्न श्री ३ जुद्धशमशेरले उनलाई वचन पनि दिएका थिए । तर वाचा भने पुरा गरेनन् । वास्तवमा योगमायाको सामाजिक समय सन्दभएका जायज मागले श्री ३ को मन नै धमिलिँदै थियो । योगमायाको माग पुरा नगर्न जुद्धशमशेरले अनेक जुक्ति निकाले । तर श्री ३ हारे र योगमायाको जित भयो ।

त्यतिखेर उनले जुद्धशमशेरको बेलाका दरबारिया विद्वानहरूसँगको शास्त्रार्थमा विजय हासिल गरेकी थिइन् । स्वर्गद्वारीका चैतन्य महाप्रभुको शिक्षा, दीक्षा र ज्ञान योगमायाको मन, मस्तिष्कमा थियो । उनलाई हराउने कसैको पनि सामथ्र्य थिएन् । उनका सामु जुद्धशमशेर समेत नतमस्तक थिए ।

योगमाया काठमाडौंबाट भोजपुर दिङ्लाको मझुवाबेंसीस्थित आफ्ना आश्रममा फर्केपछि झन् विद्रोही बन्दै गइन् । विरोधस्वरुप उनी कविता बोल्दै जान्थिन् र उनकी छोरी नैनकला आमाका ती शब्द कन्ठ पार्दै जान्थिन् ।

योगमाया दिङ्ला पुगेपछि उनी चैतन्य महाप्रभुको कर्तृत्व र व्यक्तित्वको प्रचारमा लागिन् । साथै दिङ्लामा चैतन्य महाप्रभु अभयानन्दले गरेझैँ विशाल यज्ञमा जुट्न थालिन् । उनी कठिन योगसाधनामा लागिन् र धाराप्रवाह प्रवचन र कवितावाचन गर्न थालिन् । उनको बारेमा भोजपुरकी जनकलाल शर्माले भनेकी छिन्, ‘भोजपुरको दिङ्लामा १९९७ साल ५ मा ठूलो यज्ञको आयोजना भएको थियो र त्यहाँ श्रद्धालु समाजको खूबै भीड लागेको थियो ।

तर त्यो यज्ञ सदाको भन्दा भिन्न थियो । उनले त्यहाँ उपस्थित सबै चेला चेलीहरूलाई भनिन्, ‘अब भक्तहरूले बाँच्ने युग छैन । अतःयसै यज्ञको समाप्तिका दिन पूर्णाहुतिका रूपमा यज्ञकुण्डमा प्रवेश गरेर अग्निसमाधि लिनुपर्छ ।’ योगमायाको घोषणा अनुसार त्यसै बेला उनका दुईसय चालीस जना भक्तहरूले यज्ञकुण्डमा हामफाली प्राण त्याग्न तयार भएका थिए ।
योगमायाका अग्निसमाधि सम्बन्धी घोषणा र यज्ञकुण्डमा ज्यानअर्पण गर्न जुर्मुराएका उनका अनुयायीका विषयले भोजपुर हल्लाएको थियो । त्यहाँबाट त्यो खबर धनकुटामा रहेका राणाका कारिन्दा माधवशमशेरका कानमा पनि पुग्यो ।

परिणाम स्वरूप राणाका निर्देशनअनुसार सेनाले त्यो यज्ञकुण्ड आफ्नो नियन्त्रणमा लियो । राणाका सेनाले योगमायालगायत उनका भक्त र अनुयायीहरूलाई जेल चलान गर्याे । महिला जति तीन महिना कारागारमा बसे भने पुरुषहरू साढे दुई वर्षम्म कैदी जीवन बिताएका थिए । त्यस काण्डले पण्डित प्रेमनारायण पनि अठार महिना कारागारमै कोचिएका थिए ।

उनलाई बन्दी बनाएपछि अग्निदाह गर्ने उनीहरुको योजना विसफल भयो । त्यसपछि आफ्ना भक्तहरूका साथ अरुण पुगिन् । योगमाया अरुण किनारा बाहिर मझुवाबेसीमा संवत् १९६६ तिर एक कुटी बनाएर बस्न थालिन् । उनकी एउटी भाइ बुहारी गङ्गा न्यौपाने पनि उनकी पक्का भक्त थिइन् । गङ्गा प्रेमनारायण (योगमायाका भक्त) कै दिदी थिइन् । उनी पनि योगमायासँगै बस्थिन् ।

समय अन्तरालमा राणाहरु परिवर्तन नभएपछि उनीहरुले अरुणमा हाम फालेर जलसमाधि लिने निर्णय गरे । उनको निर्णयपछि सर्वप्रथम आफू नै अरुणमा हाम फालिन् । उनका अनुयायीहरू पनि क्रमशः जलसमाधि लिँदै गए । उनीसहित ६८ जनाले त्यतिबेला जलसमाधि लिएका थिए । उनले समाधि लिइसकेपछि कतिपय उनका समर्थकलाई राणाले बन्दी बनाएको थियो ।

उनकै विचारधारा अनुरुप वि.सं.२००४ सालमा चन्द्रशमसेरले सती प्रथाको अन्त्य भएको घोषणा गरेका थिए । जुन नेपाली महिलाको स्वतन्त्रताका लागि निकै महत्वपूर्ण कदम हो ।

उनी महिला स्वतन्त्रताका लागि आवाज उठाउने नेपालकै पहिलो महिला थिइन् । उनी अगाडि आवाज उठाउन सक्ने कुनै पनि महिलामा हिम्मत थिएन् ।

योगमायाकै इतिहासमा आधारित भएर निलम कार्की ‘निहारिका’ ले लेखेको उपन्यास योगमायाले यो वर्ष मात्र मदन पुरस्कार पाउन सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 9 =