चिकित्सकहरुलाई आफ्नो सेवा छाडेर राजनीतिक नगर्न आग्रह

“
१४ भदौ, काठमाडौं । अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने व्यवस्था अन्त्य गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।
संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार विधेयकमाथिको छलफलमा भाग लिँदै अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्न कानूनी व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे ।
अस्पतालहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा राखेकै कारण नेपालको सरकारी अस्पतालहरुको अवस्था नाजुक बन्न गएको अध्यक्ष श्रेष्ठको दावी रहेको छ ।
सरकारले चिकित्सा क्षेत्रका लागि छुट्टै चिकित्सा शिक्षा ऐन ल्याएकोमा स्वागत गर्दै ऐनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन उनले सांसदहरुलाई आग्रह गरे ।
चिकित्सकहरुलाई आफ्नो सेवा छाडेर राजनीतिक नगर्न बैठकमा समितिका सदस्यहरुले सचेत गराएका छन् । समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई राजनीति नगर्न आग्रह पनि गरेका छन् ।
समितिका सदस्य योगेश भट्टराईले संवैधानिक व्यवस्था अनुसार जनताले चाहेको ठाउँमा अस्पताल खोल्ने पाउने अधिकारलाई चिकित्सकहरुले अवरोध गर्न नहुने उनको तर्क रहेको थियो । काठमाडौं उपत्यकामा चिकित्सकहरुले अस्पतालको स्थापना हुन नदिन निषेधको नीति लिएको दावी गर्दै असन्तुष्टि प्रकट गरेका छन्।
समितिले बुधबार वरिष्ठ चिकित्सक केसीसँग पनि सो विधेयकका सम्बन्धमा छलफल गरेका थिए ।
“








