पोर्चुगलको बेन्फिका च्याम्पियन्स लिगमा छानियो


“भदौ १४ । पोर्चुगलको क्लब बेन्फिका च्याम्पियन्स लिग फुटबलको समूह चरणमा स्थान बनाउन सफल भएको छ । छनौट चरण अन्तर्गत बुधबार राति भएको प्लेअफको दोस्रो लेगमा बेन्फिकाले पाओक सालोनिकालाई ४–१ ले हराउँदै समग्रहमा ५–२ को जितसहित समूह चरणमा स्थान पक्का गरेको हो ।
पहिलो लेगमा १–१ को बराबरी भएको थियो । १३ औँ मिनेटमा प्रिजोविकको गोलबाट सालोनिकाले अग्रता लियो ।
तर बेन्फिकाका लागि एडवार्डो साल्भिओले पेनाल्टी मार्फत दुई तथा निवाल्दो विएइरा र एफोन्सो फनान्डेसले एक एक गोल गरेपछि बेन्फिका विजयी भयो । सालोनिकाका लियो डी मातोस त्रुज ७६ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिए ।
यस्तै राति नै भएका खेलपछि पिएसभी एन्थोवनले बोरिसोभलाई समग्रमा ६–२ ले हराउँदै च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको छ । यस्तै समग्रमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा रेड स्टार बेल्ग्राडीले आरबी साल्जबर्गलाई हराउँदै समूह चरणमा स्थान पक्का गरेको छ ।”
