२० वर्षपछि नेपाललाई ऐतिहासिक सफलता, प्याराग्लाइडिङमा रजत पदक

काठमाडौँ, भदौ १३ । इण्डोनेसियाको जाकार्तामा जारी १८ औं एशियाली खेलकुद (एसियाड)  मा नेपालले दोस्रो रजत पदक हात पारेको छ ।

इन्डोनेसियामा भइरहेको १८ औँ एसियाड अन्तर्गत प्याराग्लाइडिङतर्फ पुरुष टिम क्रस कन्ट्री विधामा नेपालले रजत पदक हात पारेको हो । प्याराग्लाइडिङले नेपाललाई २० वर्षपछि एसियाडमा ऐतिहासिक सफलता दिलाएको हो ।

१८ औँ एसियाडबाट नेपाल पदकविहीन भएर फर्कनु परेन । नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जितेको हो भने यो समग्रमा दोस्रो रजत पदक हो।

प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीतर्फ मंगलबार सम्म चौथो चरणमा सकिदाँ नेपाल दोस्रो स्थानमा प्रवेश गरेको थियो । नेपालअघि रहेको जापानका दुर्इ खेलाडीले पाँचौ तथा अन्तिम बुधबार टास्क पूरा गर्न नसकेपछि नेपालको स्वर्ण सम्भावना बढेर गएको थियो।

वेष्ट जाभास्थित गुनुस मास पुनकेकमा बुधबार भएको अन्तिम राउण्डमा नेपालका ५ मध्ये ३ खेलाडीले टास्क पुरा गरेका हुन् ।

नेपालले कूल ११ हजार ३६४ अंक जोड्दै दोस्रो स्थान हात पारेको हो। पहिलो भएको जापानले कूल ११ हजार ३९१ अंक जोड्यो। नेपाल स्वर्ण पदक जित्नबाट २७ अंकले मात्र पछि पर्यो।

पुरुष क्रस कन्ट्रीको पहिलो र दोस्रो राउण्डमा तेस्रो भएको नेपाली टोली तेस्रो राउण्डमा चौथो भएको थियो। तर चौथो राउण्डमा नेपालका पाइलटहरुले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई दोस्रो स्थानमा पुर्‍याएका थिए। अन्तिम राउण्डमा पनि नेपालले उक्त प्रदर्शन कायम राख्दै पदक जिताएको हो।

यसअघि पुरुष र महिला दुवैको व्यक्तिगत र टिम एक्कुरेसीतर्फ भने नेपालले पदक जित्न सकेको थिएन।

प्याराग्लाइडिङमा नेपालबाट बिमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र बिशाल थापाले सहभागिता जनाएका थिए।

यसअघिको एसियाडमा नेपालको लागि पदक जितेको तेक्वान्दो, बक्सिङ र करातेमा नेपालको नतिजा निराशाजनक छ । जारी एसियाडमा नेपालबाट २९ खेलका २८५ खेलाडीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *