कृपया हर्न नबजाउनु होला मेरो देश सुतिरहेछ

“
केशब सापकोटा
गाडीको एकोहोरो घ्यारघ्यारले राती ११ बजे मात्रै चैनको स्वास फेरेर आकासेपुलको सानो खोपिल्टोमा छिरेको उ विहानै कसैले लात्ताले झक्झक्याएपछि विउँझियो ।
कचेराले भरिपूर्ण आधा आँखा उघार्दै मास्तिर र्हेयो, बडेमाको जुँगाधारी हल्दार अघिल्तिर छ । विस्मात आँखाले उसका ठुल्ठूला आँखामा आफ्ना चिम्सा आँखा जुधाउन नपाउँदै त्यो हल्दारले मान बहादुरलाई ठूलै अपराध गरेजस्तै हकार्दै भन्यो, ‘मुर्दार, तेरो ससुराली होर घाम डाँडामा आइन्जेल सुत्न्, उठ्, भाग् यहाँबाट’
धुलोमैलो राजधानीमा विहानको ५ नबज्दै कलिला घामको दर्शन गर्न पाउनु अहोभाग्य ! ठूलै अपराध गरेको अपराधीलाई अपराध कवुल गर्न तर्साए जसरी हल्दारले कराएपछि उसले यस्सो पूर्वि क्षितिजमा हेर्यो, सूर्यका लाली भर्खर देखिँदै रहेछन् । अघिल्तिर टुँडिखेलमा बडेमाका भूँडिवालहरु सकीनकसी कुदिरहेका थिए, यो उसले हरेक दिन देख्ने तमासा हो, गाउँमा ६ कक्षा सम्म पढेको मानेको हिजोको रात एक कप चिया र दुईटा दुनोटमा वितेको थियो ।
रातभरी परेको पानीमा भिजेको टुँडिखेलको झारमा नाङगो खुट्टा हस्याङ फस्याङ गर्दै कुदिरहेको त्यो भूँडेवालको बडेमाको भुँडि हेर्दै आफ्नो सुकेनास भूडिँ र्हेयो । एक पटक लामो स्वास तान्दै भुडिँमा हावा भर्दै अलिकति बढायो । एकै छिनमा बाहिर निकाल्यो ।
‘हैन, सुनिनस् ? मुर्दार याँ नबस, देखिनस तेरा बाउहरु आउँदैछन् ! ३ दिन यता तिर तेरो गन्ध पनि नआवोस् ।’ कर्कस स्वरले पुनः मानेलाई खाउँला झैं करायो ।
‘हैन, पुलीसको जातै यस्तै हो की के हो ? जतिखेर पनि थर्काउनै पर्ने !’ थोत्रो ज्याकेटको सिरानी र आफुले ओढेको बोरा उठाउँदै मनमनै गम्यो ।
हल्दारले गाली गर्दै ३ दिन यता देखा नपर भनेपछि मानेलाई आपत पर्यो । दिनभर गल्लीका फोहर र टेकूमा थुपारिएको फोहरको डंगुरमा कवाडी खोज्दै जिवन विताउने मानेको रात काट्ने स्थल थियो टुँडिखेलको त्यो आकाशे पुल ।
आकाशेपुल मुनीको ट्वाइलेटबाट आएको नाकै पोल्ने गन्धले हरेक दिन मानेलाई मताउँथ्यो । तरपनि, अलिकति उठेको ठाउँ भएकोले जत्रै पानी परेपनि मानेलाई पानीले भेट्दैनथ्यो । त्यसमाथि छेउको फलफुल र चस्मा पसलेले दिउसो धुलो र पानी छेक्न टङ्ग्याएको प्लास्टिक र त्रिपालको टुक्रोले उसलाई रात बिताउन सहज थियो ।
उ त्यहाँको एक्लो सडक छाप थियो । एक हिसाबले उ त्यहाँको राजा हो । रातको राजा । दिनभर काँ जान्थ्यो कसैलाई थाहा थिएन, साँझको ८ बज्दा नबज्दै आइपुग्थ्यो, चस्मा पसले र फलफुल पसले सामान थन्क्याउँदै हुन्थे, फलफुल थन्क्याउन हात दिथ्यो, पसलेले पनि सडेगलेका केहि टुक्रा फलफुल दिन्थ्यो ।
चार महिनैमा मानेलाई त्यो ठाउँ प्यारो भो । रिङरोडबाट टेकू हिँडेर आधा घण्टाको बाटो हो । त्यो ठाउँलाई छाडेर टेकूको फोहर थुपार्ने नजिकै बस्ने रहर गरेन उसले ।
उसका धेरै साथीहरुले त्यहिँ बाग्मतीका किनारामा डेरा जमाएका छन् । उसलाई खोला छेउ बस्न रहर लागेन । गाउँमा पनि उसको घर सिरानमा थियो, भुकम्पले इन्द्रावतीमै ल्याइदियो ।
हल्दारले विहान विहानै हकारेर ‘तीन दिन देखा नपर’ भनेपछि चैं उसलाई रात कसरी काट्ने पिर पर्यो । असन तिर उ जस्तै सडकका पेटी ओगटेर रात काट्नेहरुको संख्या धेरै छ । ग्याङ बनाएर बसेका केटाहरुले एक्लै दुक्लैलाई हेप्छन् । असन, मासाङ गल्ली, विशालबजार, न्यूरोड तिर बस्नलाई ठूलै मूटु चाहिन्छ । पैसा खोस्छन् । कतिले सुतेको ठाउँमा आएर पिसाब फेर्दिन्छन् ।
राजधानीका सडक छापहरुमा पनि सिण्डीकेट रहेछ । यायातात ब्यवसाय र तरकारी ब्यवसायमा जस्तो । ठूलाले सानालाई पेल्ने । अरुको एरियामा जान नपाउने, गएमा कि गोजीको पैसा गयो, कि नाक मुख फुट्यो । गतिलो खान नपाएर मानेका शरीरमा मासु कम हाड छाला ज्यादा छन् । कसैलाई एक मुक्का हानेर भाग्ने साहस छैन ।
७ महिना भयो सिन्धुपाल्चोक ग्याल्थुङबाट काठमाण्डू झरेको मानबहादुर मगर । भूइचालोले बाउआमा लग्यो, दिदि लग्यो, घर लग्यो, गाउँका साथीसंगी पनि लग्यो । अढाई वर्ष मेलम्चीको एउटा होटलमा जुठाभाँडा माझ्न बस्यो । विहान ४ बजेदेखि राती १० बजेसम्म सास फेर्ने फुर्सद हुन्नथ्यो । दुई छाक खाना र वर्षको १ जोर लूगा विराम हुँदा दवाइमुलो वाहेक उसले केहि नपाउने ।
ओठमा जुँगाका रेखी बस्न थालेपनि भने उस्लाई जुठा भाँडा माझ्न जाँगर चलेन । दिनदिनै साहुको कचकच, होटलमा आउनेहरुको गाली, घामपानी जाडोगर्मी केहि भन्न नपाउने । होटलमा भात खान आउने गाडीका ड्राइभरले काठमाडौंको कुरा गरेको सुन्थ्यो, पैसा कमाउने ठाउँ, सुख पाउने ठाउँ आदी इत्यादी । काठमाण्डू आएर पैसा कमाउने, सुखसयलमा बस्ने सपना देखेर माने एक रात होटलको कन्तुर उठाएर टाप कस्यो ।
७ महिना अगाडी काठमाण्डू छिरेको मानेसँग दिनभर होटलमा विक्रि भएको १०– ११ हजार पैसा थियो, सुरुका दिनमा मिठो मसिनो खायो, लजमा सुत्यो । सिनेमा हेर्न गयो । विश्वज्योतीमा लागेको हिन्दी सिनेमामा हिरो हिरोइन नाचेको, गरिब हिरो एकै पटक धनी भएको हेर्दा आफु पनी त्यस्तै हुने सपना देख्यो । सपनाकै संसारमा उसको गोजी रित्तीएको थाहै पाएन । गोजीमा सूको नभएपछि भने, उ झल्याँस्स विउँझियो ।
चारैतिर मान्छे नै मान्छे, गाडी र मान्छेको कोलाहल, कसैले कसैको मतलब नगर्ने, धुलो र धुँवा छेक्न काला सेता छिर्केमिर्के माक्स लगाएर अनुहार छोप्दै अगाडी पछाडी हिँडेकाहरु सबै विराना भए । पैसा सकिएपछि उसले मेलम्चीको बाहुन होटल साहुलाई सम्झियो, उसले दिएको खाना, गाली अनी थोरै माया पनि सम्झियो ।
घाम र पानीबाट ओत लाग्ने ठाउँ पाएपछि माने त्यो ठाउँको राजा भो । माने दिउसो कुना पसेको स्याल, रातीको राजा ।
कतै काम पाइ हालिन्छ की भनेर होटल, पसल, लजहरुमा काम माग्यो, सित्तैमा पिसाव पनि फेर्न नपाइने काठमाण्डूमा मानेलाई काम दिने कोहि भएन । त्यसमाथि सडक छाप, खाते भनेपनि धेरैले छिछि र र्दुर्दुर गरे । ‘गाउँमा थोरै मान्छे हुन्थे मायाँ गर्थे शहरमा धेरै मान्छे हुँदा पनि कसैले चिन्दा रहेनछन् ।’ सडकमा आइसकेपछि मानेले बुझ्यो ।
एक विहान टेकूको बाग्मति किनारामा भौतारिँदै गर्दा अरुले फोहरको डंङ्गुरमा कवाडी बटुलेको देखेपनि उसलाई पनि त्यहि काम गर्न मन लाग्योे । अरुको देखासिकीमा कवाडी बटुल्न थालेको मानेले कसैका गाली खानु परेन, खप्की खानुपरेन । आफ्नै मनको राजा । दिनभर कवाडी बटुलेर टेकूकै इन्डियन कवाडीवालालाई दियो, कहिले दुईचार सय हुन्थ्यो, कहिले रित्तै । जनतेन ज्यान पाल्ने मेलो पायो ।
अब सुत्नको चिन्ता । गर्मिमा पनि जाडो हुुने काठमाण्डूमा हिउँदमा मानेलाई आपत् र्पयो । कहाँ सुत्ने ! टेकू, त्रिपुरेश्वर, थापाथली सबैतिर चहार्यो, सबैतिर उ जस्तैहरुको रजाई, खाली ठाउँ, पानी नपर्ने ठाउँ पत्ता लगाउन सकेन । ग्याङ बनाएर डेनड्राइट सुघ्नेहरुले एक्लो मानेलाई सगोलमा राखेनन् ।
एकरात विरक्तिदै रिङराेड आएको उसले अहिलेको आकाशेपुल फेला पार्यो । दिनभर कवाडी बटुलेर अबेर त्यहाँ पुग्दा चकमन्न थियो । बोरा विछ्यायो, कवाडी खोज्दा भेटेको ज्याकेट सिरानी लगायो । घाम र पानीबाट ओत लाग्ने ठाउँ पाएपछि माने त्यो ठाउँको राजा भो । माने दिउसो कुना पसेको स्याल, रातीको राजा ।
हल्दारले ‘३ दिन तेरो गन्ध पनि नदेखा’ भनेपनि मानेलाई नयाँ ठाउँ खोज्नुको चिन्ता पर्यो । जसोतसो कवाडी बटुल्दा दिन वित्थ्यो, रात कसरी काट्ने, पानी पर्यो भने ! मानेका पाइताला रोकिए । मथिङगल हल्लियो । शहिदगेट भद्रकाली हुँदै सिंहदरबारको बाटो हिँड्दै गर्दा एउटा बडेमाको पोस्टर देख्यो, पोस्टर हैन त्यो होर्डिङ वोर्ड थियो त्यो ।
बडाबडा सात ओटा टाउका थिए, अंग्रेजीमा ठूल्लठूला अक्षरमा लेखिएका कुरा गाउँको सरकारी स्कूलमा मुस्किलले ६ कक्षा पढेको मानेले बुझ्न सकेन । हाम्रो देशको प्रधानमन्त्रीको तस्विर चिन्यो, सँगै गत वर्ष नेपाल आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि चिन्यो । अरुको अनुहार उसले पहिल्याउन सकेन । सँगै रंगीविरंगी झण्डाहरुमा नेपालको झण्डा चिन्यो ।
सिंहदरबार अगाडीको सडक सफा बनाइएको रहेछ, हिजो रातीको झरीले दिउसो लगाएको रंग पखालेर लत्पतिएको रहेछ । भर्खर टालेका खाल्डा खुल्डीबाट गिट्टी र अलकत्रा उप्किएका थिए । आहा ! काठमाण्डू शहर । दंग पर्यो । एक टकले आकाशै ढाक्ला जस्तै गरी ठड्याइएको वोर्ड हेर्दै टोलाइरह्यो ।
एक्कासी मानेका टाउकाँ घन बजारिए जस्तै भयो । ढड्याम्म्…
भक्लक्कै ढल्याे । भर्खर कालोपत्रे गरेको सडकाँ नाक जोतियो । अलकत्राको गन्ध भित्र पस्यो । विहानैको सडकाँ गाडीका चाप थिएनन् । दुई चार जना कल्याङ मल्याङ गर्दै अगाडी आए, के भयो, के ले हान्यो ? को हो ? काँ बाट आएको ? यस्तै यस्तै आवाज कानमा ठोकिए । मानेले विस्तारै टाउको उठाउने प्रयास गर्यो, सकेन । अाँखा तन्काएर सिंहदरबार तिर हेर्यो, पृथ्वी नारायण शाहको शालिक छेकिने गरी एउटा टिपर रोकिएको रहेछ । टिपरको डालामा नेपालीमा लेखिएका ठूला अक्षरमा रगतले लत्पतिएका आँखा मुस्किलले गए, जहाँ लेखिएको थियो ‘कृपया हर्न नबजाउनु होला मेरो देश सुतिरहेछ’
“








