बिमस्टेक सम्मेलनबारे संसदमा प्रधानमन्त्रीको यस्तो ब्रिफिङ

“
काठमाडौँ, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौँथो शिखर सम्मेलनबारे मंगलबारको संसद बैठकमा जानकारी दिँदै छन् ।
मंगलबार दिउँसो बसेको संसद बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेक सम्मेलनका लागि गरिएको तयारी, योजना र यसमा के के हुनेछन् भन्ने विषयमा संसदमा जानकारी गराएका हुन् ।
यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेक सम्मेलन हुँदैछ । उलने बिमस्टेक २० वर्ष अघि स्थापना भएतापनि विविध देशका कारणले २–२ वर्षमा हुने सम्मेलन बल्ल चौँथोमा आइपुगेको बताए ।
संविधान निर्माण तथा तीनै तहका निर्वाचनपछि नेपालमा हुन लागेको पहिलो क्षेत्रीय सम्मेलन अध्यक्ष राष्ट्रको हैसियतले सफल रुपमा आयोजना गरी अर्को राष्ट्रलाई अध्यक्षता हस्तान्तरण गर्ने दायित्व आफ्नो रहेको बताउँदै उनले सम्मेलनका अन्त्यमा नेपालले श्रीलंकालाई बिमस्टेकको अध्यक्षता हस्ताक्षर गर्ने बताए ।
‘शान्त, समृद्धि र दिगोपनतर्फ उन्मुख बंगालको खाडी’ भन्ने नारा तय गरेको जानकारी दिँदै सम्मेलनमा यस क्षेत्रका देशहरुबीच आर्थिक एकीकरण, व्यापार, सामूहिक अपराधको विरुद्ध अभियानका विषय, कनेक्टीभिटी (रेल, यातायात, ऊर्जा र हवाई) र बुद्धिष्ट सर्किटको पहुँच विस्तार गर्ने लक्ष्य राखेको बताए ।
प्रधानमन्त्री ओलीले बिमस्टेकको १४ वटा प्राथमिकता रहेको भएपनि यसपटक ब्लु इकोनोमी र माउन्टेन इकोनोमी थपेर १६ वटा प्राथमिकताको क्षेत्र तोकिएको बताए ।
बिमस्टेक संगठनलाई क्षेत्रीय विकास र विस्तारका लागि उपयोगी बनाउन प्रयोग गर्ने उद्देश्य लिएको बताउँदै उनले बिमेस्टेकमा नेपालले लिएको गरिबी निवारणको नेतृत्व उपयोगी हुने विश्वास लिएको बताए । उनले गरिबी निवारणको विषयमा सदस्य राष्ट्रहहरुसँग सहकार्य र साझेदारी गर्ने कुरामा सम्मेलन उपयोगी हुनेछ भन्ने सरकारले आशा लिएको बताए ।
यस्तै उनले नेपाल भारतबीच दुईपक्षीय समझदारी हुने पनि जानकारी गराए । अन्य राष्ट्रहरुबीच पनि भेटघाट र पारस्परिक सम्बन्ध सुदृढ गर्ने पनि उनको भनाइ थियो ।
“








