निर्मला हत्या काण्डका आरोपित विष्टलाई विमानबाट काठमाडौँ ल्याइयो

काठमाडौँ, भदौ १२ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दिलीपसिंह विष्टलाई काठमाडौं ल्याइएको छ । उनको स्वास्थ्य परीक्षणका लागि बिष्टलाई मंगलबार बिहान विमानबाट काठमाडौँ ल्याइएको हो ।

विष्टको त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षणपरी मानसीक अस्पताल पाटनमा पनि परीक्षण हुनेछ । साथीको घरमा पढ्न गएकी निर्मलाको साउन ११ गते शव फेला परेको थियो ।

कञ्चनपुर प्रहरीले निर्मलाको बलात्कार र हत्यामा बिष्टको संलग्नता रहेको निष्कर्ष निकालेको थियो । तर स्थानीयले आरोपितको मानसीक अवस्था ठीक नभएकाले फसाउन खोजेको आरोप सहित आन्दोलन गर्दै आएका थिए । आन्दोलनकै क्रममा एक बालकको ज्यान समेत गइसकेको छ ।

घटनाका सम्बन्धमा खोजी गर्न गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा अनुसन्धान टोली खटाइसकेको छ । अनुसन्धानकै क्रममा प्रहरीले निर्मलाकी साथी रोशनी र उनकी दिदी बबिता बमलाई पनि पक्राउ गरिसकेको छ ।

आरोपित विष्ट आफ्नै भिनाजुको हत्या गरेको आरोपमा जेल जीवन बिताइसकेका छन् भने पछि आममाफी पाएर उनी जेलमुक्त भएका व्यक्ति हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *