विप्लप माओवादी कथन ‘वार्तामा बस्नुको औचित्य छैन ।’

“
काठमाडौं, भाद्र ११ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सरकारले नियत वस पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वार्ता नगर्ने बताएको छ । राजनीतिक आस्थाकै कारण विभिन्न आरोपमा पार्टीका नेता तथा कार्यकर्तालाई सरकारले धरपकड गरिरहेको अवस्थामा वार्ता बस्नुको औचित्य नरहेको बताएको हो ।
पार्टीका प्रवक्ता प्रकाण्डलाई सरकारले नियत राखेरै पक्राउ गरेको भन्दै वार्ता टोलीसँग छलफल गर्नुको कुनै औचित्य नभएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनाएको हो ।
पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओलीले वार्ता टोली गठनको औचित्यमै प्रश्न उठाउँदै छलफलको औचित्य नभएको बताएका हुन् । उनले हिजो विविसिसँग सो कुरा गरेका हुन् । ‘उहाँहरू कसरी नमिल्ने र द्वन्द्व चर्काउने भन्नेतिर अगाडि बढिरहनु भएको छ । हामीले सबै हिसाब गरिरहेका छौं । जस्तै हाम्रा प्रवक्तालाई कहिले काठमाण्डू, कहिले काभ्रेपलाञ्चोक त कहिले नुवाकोट लगेको छ । हाम्रा थुप्रै साथीहरूलाई विभिन्न अपराधका आरोपमा समातिरहेको छ । त्यसकारण बाहिर एकथरी र भित्र दमन गर्ने नीति लिने सरकारसँग वार्ताको औचित्य छैन ।’ उनले भने ।
सरकारले गत शुक्रबार नेपाल कम्युनिष्ट पार्टी लगायत तराईमा रहेका सशस्त्र समूहसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो । उच्चस्तरीय वार्ता टोलीले भने सबैलाई वार्तामा आउन आह्वान गरेको छ ।
सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए पनि प्रहरीले उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई फेरी पक्राउ गरेको छ ।
छिटपुट रुपमा रहेको द्वन्द्वरत समूहलाई वार्ता माध्यमबाट उनीहरूलाई पनि मुलुक निर्माणको काममा हातेमालो गरेर अगाडि बढाउने उद्देश्यका साथ यो कार्यदल गठन भएको हो । उच्च स्तरीय वार्ता टोलीले भने अर्को हप्ताबाट नै काम थाल्ने गरी तयारी गरिरहेको जनाएको छ ।
उक्त वार्ता टोलीलाई तराईमा पृथकतावादी आवाज उठाएको भन्दै विवादमा तानिएका सीके राउत र पूर्व तथा तराईमा विभिन्न समूहहरूसंग वार्ता गर्न अधिकार दिइएको बताइएको छ ।
“








