आज गाईजात्राः पितृगणको सम्झनामा नेवार समुदाय, यस्तो छ धार्मिक आस्था:


“
काठमाडौँ, भदौ ११ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्ण प्रतिपदादेखि शुरु हुने गाईजात्रा काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने गरिन्छ ।
नेपाली समाजको एक महत्त्वपूर्ण परम्परागत सांस्कृतिक पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गरिन्छ । यो वर्ष पनि सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज (सोमबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, सङ्खुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा, मकवानपुर, कास्कीलगायत जिल्लाका शहरमा पनि यो पर्व मनाउने गरिन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको छ ।
यो जात्रा नेवार संस्कृतिबाट सुरू भएतापनि सबै समुदाय यसमा रम्ने गर्दछन् । यस दिन पर्यटकहरुको पनि चहलपहल बाक्लै हुने गर्दछ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन ।
यस दिन भजन कीर्तन पनि गरिन्छ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।
नेवार समुदायमा प्रचलित यस पर्वमा एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
त्यहि बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा यसमा विशेष रौनक हुन्छ ।
पछिल्लो समय गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ । विशेषगरी कलाकारहरुले यसलाई व्यङ्गयात्मक ढङ्गले प्रस्तुत गर्ने गर्दछन् ।
“
