बल्खु तरकारी बजारमा एकाबिहानै छापा, व्यापारी र सरकारी टोलीबीच झडप !

“
काठमाडौँ, भदौ ११ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ ।
विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा सोमबार बिहान ४ बजे सरकारी टोलीले तरकारी बजारमा छापा मारेको हो । छापा मार्ने क्रममा टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको छ ।
छापा मार्न पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि सृजना भएको झडपमा व्यापारीहरुले सरकारी टोलीमाथि अभद्र व्यवहार र हुलहुज्जसमेत गरेपछि त्यहाँका व्यापारी रवि साहलाई पक्राउ गरिएको आपूर्ति मन्त्री मातृका प्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज पोखरेलले जानकारी दिएका छन् ।
साहलाई पक्राउ गरेपछि व्यापारीहरुले बजारभित्र र बल्खु चोकमा निस्केर विरोध प्रदर्शन गरेका छन् । सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको छ । व्यापारीहरुसँग पान नम्बर समेत नरहेको अनुगमन टोलीले जनाएको छ ।
त्यहाँका अधिकांश व्यापारीले बाहिरबाट कृषकसँग तरकारी किनेर ल्याउँदा कुनै प्रकारको बिलसमेत नराखेको भेटिएको छ । अनुगमन टोलीले बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा आजै आएर स्पष्टिकरण दिन निर्देशन दिएको छ ।
बल्खु तरकारी बजार कम्पनी ऐन अन्तरर्गत खोलिए पनि त्यहाँको अधिकांश कारोबार अवैध पाइएको हो । यसअघि सरकारले कालिमाटी तरकारी बजारमा हस्तक्षेप गरेर त्यहाँ बिचौलियाले चलाएका ९८ वटा स्टल खारेज गर्ने निर्णय गरेको थियो ।
“








