बलत्कारीलाई भन्दा पीडितलाई सजाय दिन्छ समाज !

“
काठमाडौँ, भदौ १० । देश उही, कानून उही अनि, समाज पनि एउटै । यहि समाजमा उनीहरु निर्धक्कका साथ हिड्न पाउँछन् कुनै समस्या छैन त्यस्तो । तर ती निर्धक्क हिड्न पाएकाहरुबाटै हामी महिलाहरु भने असुरक्षित हुनु पर्ने कस्तो बिडम्बना !
केही दिनदेशी बढिरहेका घटना र अनुसन्धान तथा कारबाहीका क्रममा राज्य चलाउनेहरुले देखाएको गतिविधिले भविश्यमा पनि झनै असुरक्षा थपिँदै छ भन्ने महसुस गराउँछ महिलाहरुलाई ।
देशमा दिनानुदिन बालिका तथा महिला बलात्कारका घटनाहरु बढिरहेका छन् । घटना लुकाउनका लागि हुने बलत्कारपछिको हत्या पनि दिनदिनै सुन्न परेको छ ।
कति घटना खुलेर आएका छन् । कतिपय घटना गुपचुपमै लुकाउन बाध्य छ हाम्रो समाज । घटनापछिको न्याय र सामाजिक दृष्टिकोणले कतिपय बाहिर ल्याउन चाहँदैनन् यस्ता घटना लुकाउन बाध्य हुन्छन् जुन गलत हो । केहीदिन भित्रमा बाहिर आएका घटना यस्तै दर्दनाक छन् ।
यतिबेला कन्चनपुरकी निर्मला पन्तको बलात्कारको घटनाले निकै चर्चा पाएको छ । उनको बलात्कार र हत्या गर्ने अपराधिलाई लुकाउन खोजिएको र नक्कली अभियुक्त उभ्याएको भन्दै घटनाले अर्को रुप लियो ।
आन्दोलनका क्रममा एक बालकको ज्यान गयो अरु धेरै स्थानीय घाइते भए । स्थानीयको चर्को दबाबपछि प्रहरीले थप व्यक्तिलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टका छोरा र भिमदत्त नगरपालिकाका प्रमुखका छोरालाई पनि नियन्त्रणमा लिइएको छ । तर वास्तविक अपराधि को हो भन्ने पत्ता भने लागिसकेको छैन ।
निर्मला हत्यामा संलग्नका लागि खोजी गर्न सरकारले उच्चस्तरीय छानबीन टोली गठन गरिसकेको छ । तर वास्तविक अपराधी प्रहरीले फेरी पक्रन नसक्ने पो हो कि भन्ने अन्योलता अझै छँदैछ ।
पश्चिम कन्चनपुरमा आन्दोलन चर्किरहेको थियो । त्यहिबेला गत शुक्रबार पोखरामा १४ वर्षीय बालिका पुष्पा केशीको बलात्कारको सिकार बनिन् । उनको बलत्कारपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । यो घटना पनि उत्तीकै रहस्यमय छ ।
पहिले बढी बालिका भन्दा पनि महिला बलात्कारमा परेका घटना बढी हुन्थे । पछिल्ला घटना हेर्दा बालिकाहरु बलात्कारमा परेका घटना धेरै बाहिरिएका छन् ।
केन्द्रिय बालकल्याण समितिले २०७४ चैतदेखि २०७५ को असारसम्मका बालिका बलात्कारको तथ्यांक बाहिर ल्याएको थियो । उक्त तथ्यांक अनुसार चार महिनामा ६ सय ७५ बालिका बलत्कृत भएको तथ्य बाहिर आएको छ ।
विगतमा भन्दा अहिले बालिका बलात्कारका घटना बढेको तथ्यांकले देखाएको छ । अघिलो चार महिनाको तथ्यांकमा २७२ बालिका बलत्कृत थिए ।
संविधानले महिला र पुरुष बराबर भनेको छ । तर बराबर भनिएका पुरुषबाटै असुरक्षित छन् महिलाहरु । कामबाट घर फर्कन त परै जाओस घरबाट बाहिर निस्कन समेत महिलाले डर मान्नुपर्ने स्थिति छ ।
भारतमा भएको सामुहिक बलात्कारको घटनापछि नै बलात्कारीलाई फाँसीको सजायको व्यवस्था गरिएको थियो । नेपालमा फाँसी त परको कुरा भैरहेको कानून पनि कार्यन्वयन गरिँदैन । सकेसम्म अपराधीलाई लुकाउने नै प्रयास हुने गरेको छ । कानूनी सहयोगका लागि पुगेकाहरु पनि बलत्कारीसँग मिलेमतो गरेर फर्किनु पर्छ ।
फर्किएपछि बलत्कारी दम्भका साथ समाजमा हिड्न पाउँछ । समाजले पीडित महिलालाई थुक्छ, छि छि र धुरधुर गर्छ । समाजले बलत्कारीलाई भन्दा बढि पीडितलाई सजाय दिन्छ ।
समाजले बलत्कृत महिलालाई यतिसम्मको स्थिति सिर्जना गरिदिन्छ कि ऊ मरेतुल्य जीवन बिताउन बाध्य हुन्छे । पुरुषले जति महिलासँग शारीरिक सम्बन्ध कायम राखे पनि सामान्य मान्ने हाम्रो नेपाली समाज महिलालाई भने अछुत बनाउनँछ त्यही पुरुषसँगको सम्बन्धमा पनि ।
संविधानले १५ वर्षमुनिका बालिकासँग सहमतिमा नै शारीरिक सम्बन्ध राखे पनि त्यसलाई बलात्कारका रुपमा लिने गरेको छ । तर काभ्रेकी एक बालिका बाबुबाटै बलात्कृत भइन ।
महिलाहरु घरभित्रै पनि सुरक्षित छैनन् । बलात्कारीलाई कडा सजायको व्यवस्था छैन । हदैसम्मको कारबाही नहुँदा पनि अपराध बढ्दै गएका छन् ।
बलात्कारीलाई जन्मकैद हुने भनिएको छ । तर राज्य चलाउनेहरु बलत्कारीलाई छुटाएर शक्तिशाली ठान्ने परिपाटी पनि यहीँ छ । घरदेखि राज्यका हरेक निकाय, अनि समाजबाट बलत्कारीलाईभन्दा पीडितलाई बढि सजाय दिइन्छ । यसको अन्त्य गर्न सोचिनु पर्छ ।
“








