एसिया कप: तेस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

“
काठमाडौँ, भदौ १० । मलेसियामा अगष्ट २९ तारिखदेखि शुरु हुने एसिया कप छनौटका लागि खेलेको तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले जित हात पारेको छ ।
श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेस्रो तथा अन्तिम अभ्यास खेलमा आइतबार स्थानिय कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो ।
नेपालले श्रीलंकामा खेलेका तीनवटै अभ्यास खेलमा जित हात पारेको हो। यसअघि नेपालले स्थानिय आर्मी क्लब तथा ब्लुमफिल्ड क्लबमाथि जित हात पारेको थियो। नेपाली टोली सोमपाल मलेसिया प्रस्थान गर्नेछ।
कोल्ट्सले दिएको २१७ रनको लक्ष्य नेपालले ४२ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा कप्तान पारस खड्का र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए । कप्तान पारसले ५७ बलमा ५८ रन जोडे । यस्तै दिपेन्द्रले अविजित ५२ रन जोडे । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४५, सुवास खकुरेलले २२ तथा आरिफ शेखले अविजित २३ रन जोडे । कोल्ट्सका श्रीवर्दने २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोल्ट्सले ४९ ओभर ५ बलमा अलआउट हुँदै २१६ रन जोडेको थियो । कोल्ट्सका हसन हिवानायकेले ५९ रनको अर्धशतकीय इनिङस खेल्दा श्रीवर्दने ३६ रन जोडे । यस्तै मधुरा लेकमालले ३१ रन, विश्व चथुरारंगाले २६ तथा क्रिशन नाथनले २४ रन बनाए ।
नेपालका सोमपाल कामीले ३ विकेट लिए । यस्तै सागर पुन र करण केसीले समान २/२ विकेट लिए ।
एसियाकप छनौट प्रतियोगितामा नेपालसहित मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईबीच सामना हुनेछ। नेपालले शीर्ष स्थान हासिल गरे भारत र पाकिस्तानको सिनियर टोलीसँग खेल्न पाउनेछ।
कप्तान पारस खड्को कप्तानीमा रहेको नेपाली टोलीमा १५ खेलाडी र ६ जना अफिसियलहरु छन् । खड्का सँगै खेलाडीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ सेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुबास खकुरेल छन् ।
यस्तै टोलीसँगै मुख्य प्रशिक्षक जगत टमटा, ब्याटिङ परामर्शदाता अपूर्व सुबोध देसाई, व्यवस्थापक रमन सिवाकोटी, फिजियो दिनेश भट्ट, ट्रेनर सुबास पात्रो र भिडियायो एनालिस्ट सुरज शाक्य पनि रहेका छन् ।
“








