ऊर्जामन्त्री पुनले फेरे गाडी, प्रयोग गर्न थाले विद्युतीय सवारी


“
काठमाडौँ, भदौ १० । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले विद्युतीय सवारी साधन प्रयोग गर्न थालेका छन् ।
सरकारले विद्युत उत्पादन बढेसँगै पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय सवारीको प्रयोगलाई जोड दिने नीति लिएको छ । त्यहि अनुरुप ऊर्जामन्त्री पुनले आइतबारबाट यस्तो सवारी प्रयोग गर्न थालेका हुन् । ५६ लाख रुपैयाँमा किनिएको बा२झ ८९०३ नम्बरको गाडी मन्त्री पुनले उपयोग गर्नेछन् ।
पुनले प्रयोग गरेको गाडी नेपाल विद्युत प्राधिकरणले खरिद गरेर मन्त्रालयलाई उपलब्ध गराएको हो । मन्त्री पुनले गत वैशाख २५ गते गरेको ऊर्जा तथा जलस्रोत क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रमा पनि विद्युत खपत बढाउन विद्युतीय सवारी प्रयोगमा जोड दिइने उल्लेख छ ।
मन्त्रालयले थप ३ वटा नयाँ विद्युत सवारी खरिद प्रक्रिया पनि अघि बढाएको छ । प्राधिकरणले अहिलेसम्म विद्युतीय सवारी प्रयोग गरेको छैन । तर, प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले ४ वटा विद्युतीय सवारी प्रयोग गरिरहेको छ ।
सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने र १० हजार मेगावाट स्वदेशमै खपत गर्ने लक्ष्य राखेको छ । विद्युत खपत बढाउन पनि विद्युतीय सवारी प्रयोगलाई जोड दिने सरकारको नीति छ ।
“
