म्याग्दी: बाबुको मृत्युपछि बिच्चीमा परेका यी तीन बेसहारा सन्तान


“
म्याग्दी, भदौ १० । परिश्रम गरेर खेती–किसान गरौँ, जग्गा जमिन छैन । मजदुरी गरौँ, अवसर पाउँदैन । छरछिमेकको सहयोगमा बनाएको सानो झुप्रो पानी पर्दा चुहिन्छ, हावाहुरीले छानो उडाइदिन्छ । पत्नीमा एक प्रकारको मानसिक समस्या छ । घरमा तीन सन्तानलाई कसरी लालनपोषण गर्ने ? बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका तुल बहादुर बानियाँले जीउने कुनै उपाय देखेनन् ।
अन्ततः २०७३ कात्तिकमा उनले त्यही झुप्रोभित्रै आत्महत्या गरे । चरम गरिबीका कारण तुलबहादुरले आत्महत्या गर्दा उनका तीन नाबालक सन्तान अहिले बिचल्लीमा परेका छन् ।
बुबाले आत्महत्या गरेकै झुप्रोभित्र ८ बर्षीया इश्वरी, ६ बर्षीया सरस्वति र ४ बर्षीय गणेश आमा सीता बानियाँसँग बस्दै आएका छन् । सीता राम्रोसँग बोल्न र प्रष्ट कान सुन्न सक्दिनन् । इश्वरी जामुनाखर्क मावि अर्थुङ्गेको कक्षा २, सरस्वति १ र गणेश भने भर्खर विद्यालय जान थालेका छन् । उनीहरुलाई गास, बासदेखि विद्यालय पोशाकको समेत अभाव छ । स्थानीय सीता सुवेदीले छरछिमेकले सहयोग गरे मात्र उनीहरु खान सक्ने अवस्थामा नरहेको बताइन् ।
‘हामीले दिएपछि यी बालबच्चाले खान पाउंछन् नत्र भोकै सुत्छन्’, उनले भनिन्, ‘घरमुली हुनेबेलामा यताउता गरेर जिविका चलेको भएपनि तुलबहादुरले आत्महत्या गरेपछि बच्चाहरुको बिचल्ली भएको छ ।’ तुल बहादुरको दाहसँस्कार र काजक्रिया समेत स्थानीयले चन्दा संकलन गरेर गरिएको थियो । स्थानीय युवा यादब सुवेदीले साविक अर्थुङ्गे गाविस हुँदा उनीहरुको आर्थिक अवस्थाका कारण सर्वपक्षीय रुपमा निर्णय गरेर सार्वजनिक जग्गामा टहरा निर्माण गरिएको जानकारी दिए ।
‘पहिला देखि नै उहाँहरुको केहि थिएन, पछि तुलबहादुर दाइको मृत्यु भएपछि झन समस्यामा छन्’, उनले भने, ‘बच्चाहरुलाई दैनिक खानपिन र सुत्ने ओछ्यानको समेत अभाव छ ।’ जिल्ला सदरमुकाम बेनीदेखि आधा घण्टाको पैदलदुरीमा रहेको बानियाँ परिवारको आर्थिक अवस्थाबारे वडा कार्यालय देखि चौतर्फी सहयोगको याचना गरिएको उनले बताए ।
कक्षा २ मा अध्ययनरत इश्वरीले आमाले पकाएर खान नदिएपछि छरछिमेकमा जाने गरेको बताइन् । ‘पढेर ठुलो मान्छे रहर छ तर घरमा भनेको बेलामा खान पाइदैन, पानी प¥यो भने सुत्ने ठाउँ पुरै चिसो हुन्छ’, उनले भनिन्, ‘कापी कलम पनि नयाँ हुदैन ।’ बेनी नगरपालिका वडा नं ६ का वडाअध्यक्ष कृष्ण बानियाँले समस्यामा रहेका बानियाँ परिवार र नाबालकहरुको सहज पठनपाठनको वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए । ‘सबै निकायसँग मिलेर उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे योजना बनाउँदैछौँ’, उनले भने ।
“
