कञ्चनपुर: एक महिनापछि शून्यबाटै अनुसन्धान सुरु

कञ्चनपुर, भदौ १० । निर्मला पन्तको हत्या भएको एक महिनामा घटनाबारे बल्ल अनुसन्धान सुरु भएको छ। कञ्चनपुरमा खटिएर आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले शुक्रबारदेखि घटनाबारे अनुसन्धान थालेका हुन् ।

आजको नागरिक दैनिकमा समाचार छ । यस क्रममा अदालतको अनुमति लिएर रोशनी बम र बबिता बमलाई पक्राउ गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए।

यसअघिका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले घटनाबारे थालेको अनुसन्धान प्रक्रियाप्रति असन्तुष्ट जनाउँदै स्थानीयले महेन्द्रनगरमा आन्दोलन चर्काएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, प्रहरी उपरीक्षक डिल्ली बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीलगायत गृह मन्त्रालय तानिएका थिए। उनीहरूको सट्टामा गृह मन्त्रालयले नयाँ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख खटाएपछि उनीहरूको नेतृत्वमा स्थानीयको मागबमोजिम अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार एक महिना भएको छ। ‘एक महिनापहिले गरिनुपर्ने अनुसन्धान हामीले फेरि शून्यबाटै सुरु गरेका छौं’, प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘घटनामा संलग्न सानोदेखि ठूलासम्म सबैलाई कारबाहीको दायरामा ल्याएरै छाड्छौं ।’ अनुसन्धानका क्रममा दोषी देखिएमा यसअघिका प्रहरी अधिकारीलाई पनि निलम्बनसहित कारबाही गरिने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *