सायमीद्वारा एकल कविता वाचन
“काठमाडौँ, भदौ ७ । जनसाहित्य मञ्चले प्रत्येक महिनाको दोस्रो शुक्रबार आयोजना गर्ने एकल कविता वाचनमा कवि स्नेह सायमीले एकल कविता वाचन गरेका छन् ।
आज काठमाडौँमा अविरल जनसाहित्य यात्रा नामक कार्यक्रममा सायमीले कविता वाचन गरेका हुन् । उक्त कार्यक्रममा उनका ‘झोला’, ‘कोर्रा’, ‘हजुर महान हुनुहुन्छ’, ‘सेना’, ‘चौतारो बोल्यो’, ‘प्रवेशद्वार’, ‘लसकुशमा काठमाडौँ’, ‘हामीलाई सन्चै छ’, ‘स्मार्ट सिटी काठमाडौँ’, ‘सिसा र जिन्दगी’, ‘पुल र पर्खालहरु’ र ‘बन्दुक र लालीगुराँस’ सहित १२ वटा शीर्षकका कविता वाचन गरिएका थिए ।
कविता वाचनमा उनलाई कवि लक्ष्मी माली, मातृका पोख्रेल र अस्मिता मालीले साथ दिएका थिए ।
सायमीका कविताहरु सुन्दा सामान्य लागे पनि गहन भएको समालोचक डा नेत्र एटमले बताए । ‘शीर्षक जति सरल छन्, भाव उति नै गहकिला,’ उनले भने ।
प्राध्यापक राजेन्द्र सुवेदीले सायमी आधुनिकताप्रति सचेत रहेको बताए ।”