विधान मस्यौदा समितिको विवादले कांग्रेसको केन्द्रीय समिति प्रभावित, पौडेल पक्षको छुट्टै भेला


“
काठमाडौँ, भदौ ८ । सभापति शेरबहादुर देउवाले सहमति विपरित ११ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको असर आजका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय समितिमा परेको छ ।
विधान मस्यौदा समितिमा दुई जना जिल्ला सभापतिलाई समावेश गर्ने सहमति सहित ११ सदस्यीय विधान मस्यौदा समिति गठन गर्न हिजो बसेको पदाधिकारी बैठकमा सहमति भएको थियो । तर सभापति देउवाले जिल्ला सभापतिलाई समावेश नगरि केन्द्रीय सदस्यहरु मात्र राखेर विधान मस्यौदा समिति बनाएपछि पौडेल असन्तुष्ट बनेका थिए ।
पौडेलको असन्तुष्टीका कारण विधान समितिको पहिलो बैठक पौडेल पक्षले वहिष्कार गरेको छ भने केन्द्रीय समितिको बैठक समेत बस्न सकेन् । विधान मस्यौदा समिति बनाउँदा सभापतिले सहमति पालना नगरेपछि पौडेलले बिहान नौ बजेदेखि केन्द्रीय सदस्यहरूको भेला बोलाएका थिए ।
पौडेलपक्षीय भेला सकेर नेताहरू एक बजे पार्टी कार्यालय पुगेका थिए । तर, सभापति देउवा साढे १२ बजे नै खानाका लागि निस्किए । केन्द्रीय सदस्यहरुले अनौपचारिक छलफल गर्दै सभापतिलाई कुरेपनि सभापतिले अन्तिम समयमा आएर केन्द्रीय समितिको बैठक भोलि ११ बजे बस्ने गरी स्थगित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यसैबीच, शुक्रबार नै मस्यौदा समितिको बैठक बोलाइएको थियो । त्यस बैठकमा पनि रामचन्द्र पक्षधर मानिएका नेताहरू अनुपस्थित भएपछि बैठकले विषयवस्तुमै प्रवेश नगरेको नेताहरूले बताएका छन् ।
काँग्रेसमा नौ सदस्यीय विधान मस्यौदा समिति बनाउने निर्णय भएपनि बिहीबार बसेको पदाधिकारी बैठकले जिल्ला सभापतिलाई समावेश गर्न ११ सदस्यीय समिति बनाएको थियो ।
सभापति देउवाले आफ्नो पक्षका दुई जना थप केन्द्रीय सदस्यलाई समावेश गरि मस्यौदा समिति गठन गरेपछि पौडेल पक्ष रुष्ट बनेको थियो । यही असन्तुष्टिका कारण मस्यौदा समितिको बैठकमा पौडेल पक्षधर नेताहरू सहभागी भएनन् ।
“
