‘बलात्कार र भ्रष्टाचारमा मृत्युपर्यन्तले पुग्दैन’ – पूर्वकानूनमन्त्री तामाङ

काठमाडौँ, भदौ ८ । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारमा मृत्युपर्यन्तले नपुग्ने बताएका छन् ।

शुक्रबार महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री तामाङले बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्ने बताएका हुन् ।

कतिपय अपराधमा नेपालमा मृत्युपर्यन्तको सजाय व्यवस्था भए पनि बलात्कार र भ्रष्टाचारमा भने मृत्युपर्यन्तले पनि नपुग्ने उनको भनाइ छ । समाजमा बालबालिका तथा आमाहरुको संरक्षणका लागि पनि यस्तो कानून बनाउनुपर्ने उनले बताए ।

महिलालाई हेर्ने समाजको विकृत मनस्थितिका कारण पनि यस्तो समस्या उत्पन्न हुने गरेको उनको बुझाइ छ ।

छलफलमा उनले मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्ने बताए । ‘हामीले मृत्युदण्डको कानून नबनाउने गरी संयुक्त राष्ट्रसंघमा हस्ताक्षर गरेका छौं, त्यसैले सरकारले संयुक्त राष्ट्रसंघले यसका विरुद्ध प्रोटेस्ट हाल्नुपर्‍यो’ उनले भने ‘बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डसम्म जानुपर्छ ।’

उनले कानून कसैलाई दण्ड दिनमात्र नभइ सिकाउनका लागि पनि भएको बताए । यस्ता घटना हुँदा यस्तो कारबाही हुन्छ भन्ने जानकारी समाजमा दिनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =