बढ्दै बालश्रम र बलात्कारका घटना


“
काठमाडौं, भदौ ८ । केन्द्रिय बालकल्याण समितिको तथ्यांकअनुसार बालश्रम र बलात्कारका घटना बढ्दै गएको पाइएको छ । समितिको चौमासिक तथ्यांकका आधारमा त्यस्ता घटना बढ्दै गएको पाइएको हो।
विभागको २०७४ चैतदेखि २०७५ असारसम्मको तथ्यांक अनुसार चार महिनामा ६ सय ७५ बालबालिका बालश्रम र बलात्कारका सिकार भएका छन् । अघिल्लो चार महिनाको तुलनामा २७२ ले त्यस्ता घटना बढेको पाइएको छ ।
बालश्रम निषेध र नियमित गर्ने ऐन, ०५६ ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध भए पनि त्यस्ता घटनाहरु दिनानुदिन रुपमा बढ्दै गइरहेका छन्। १४ वर्षका बालबालिकालाई कुनै पनि रुपमा काममा लगाउन नहुने कानूनी प्रावधान छ ।
तथ्यांक अनुसार चार महिनाको अवधिमा सबैभन्दा बढी चैतमा एक सय १०, वैशाखमा ८१ तथा जेठ र असारमा २०÷२० जना बालबालिकालाई बालश्रममा लगाइएको पाइएको छ ।
सार्वजनिक यातायातमा श्रमिकको रूपमा सबैभन्दा बढी एक सय रहेका छन् भने भारतमा काम गर्नका लागि ७२, पर्यटक घोडामा घुमाउने, डुंंगामा चालकको रूपमा तथा विवाहलगायत शुभ कार्यमा बाजा बजाउने २२ जना, घरेलु तथा होटल श्रमिकका रूपमा १५ जना, इँट्टा उद्योगमा १०, पढाइ खर्च जुटाउन नौ जना बालबालिकाले श्रम गरेको पाइएको प्रतिवेदनले देखाएको छ ।
बालश्रममा बालकभन्दा बालिकाको संख्या बढी पाइएको छ। जसमा एक सय ९० जना बालिका छन् भने ४१ जना बालक छन् । आर्थिक वर्ष ०७४/७५ को दोस्रो चौमासिकको तथ्यांक अनुसार एक सय ४० बालश्रमसम्बन्धी घटना भएका थिए । त्यस्तै पछिल्लो वधिमा दुई सय ३१ वटा घटना घटेका छन् ।
पछिल्लो चौमासिकमा विभिन्न सञ्चार माध्यममा १ सय २० बालबालिकामाथि यौन दुव्र्यवहार र बलात्कार भएका घटनाहरू प्रकाशमा आएका थिए । सबैभन्दा बढी चैत महिनामा ५७ बालबालिका पीडित भएको पाइएको छ । यस अवधिमा दुई जना बालक जर्मन नागरिकबाट बाल यौन दुव्र्यवहारमा परेका थिए ।
१४ बालिका सामूहिक बलात्कारमा परेको विभागको तथ्यांकमा उल्लेख छ । तीमध्ये ३ जना बालिका सुस्त मनस्थितिका थिए । त्यस्ता घटनाहरु बढी चिनेजानेका व्यक्तिबाटै हुने गरेको देखिएको छ ।
केन्द्रिय बालकल्याण समितिका अनुसार वैदेशिक रोजगारी बढ्दो बेरोजगारीका कारण पनि यस्ता हिंसाका घटना बढ्दै गएका हुन् ।
“
