स्वास्थ्यमन्त्री यादवलाई कालो झण्डा देखाउने चारविरुद्ध राज्य मुद्दा

काठमाडौं, भदौ ८ । बर्दियाको कार्यक्रममा गएका उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने चार जना युवालाई राज्य विरुद्धको मुद्दा चलाइने भएको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवलाई बिहिबार जिल्ला समन्वय समिति बर्दियाको सभा हल बाहिर कालो झण्डा देखाउने हरपाल सिंह, राममनोहर यादव, इरफान शेख, राजित राम वर्मालाई राज्य विरुद्धको मुद्दा चलाइने भएको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय वर्दियामा राखिएको प्रहरीले जनाएको छ ।

बिहिबार जिल्ला समन्वय समिति बर्दियाको सभा हलमा फोरम नेपालले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा यादवलाई सहभागीहरुले मधेश आन्दोलनबारे प्रश्न गरेका थिए ।

मधेश आन्दोलनका शहीदको भावना विपरीत सरकारमा गएको भन्दै युवाहरुले आक्रोश व्यक्त गर्न थालेपछि करिब एक दर्जन युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि सभा हल बाहिर यादवलाई ती युवाहरुले कालो झण्डा देखाएका थिए ।

उनीहरुमाथि राज्य विरुद्धको अपराधमा मुद्दा चलाउने तयारी गरिएको छ । उनीहरुलाई आजै सरकारी वकिलको कार्यालय लगिएको छ ।

यता स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले पक्राउ परेकाहरु गठबन्धनका कार्यकर्ता रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =