गृहमन्त्रालयले परिवर्तन गर्यो कञ्चनपुरका सीडीओ र एसपी


“
काठमाडौँ, भदौ ७ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे कञ्चनपुरमा आन्दोलन चर्किरहेको छ । हत्या प्रकरणको विरोधमा कञ्चनपुरमा भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले साँझ ५ बजेदेखि कर्फ्यू समेत जारी गरेको छ । बिहिबारको आन्दोलनमा गोली चलेपछि प्रहरीसहित ८ जना घाइते भएका छन् ।
यसैबीच गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।
मन्त्रालयमा बिहीबार बसेको बैठकले जिल्ला अधिकारी कुमारबहादुर खड्काको स्थानमा तारानाथ अधिकारीलाई पठाएको स्रोतले जनाएको छ ।
मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन गरी उनको ठाउँमा कुवेर कठायतलाई पठाउने तयारी गरेको छ ।
यसैबीच, गृहले पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।
कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा बनाइएको समितिमा प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य छन्। बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
“
