करवृद्धिको विरोधमा उपमहानगरपालिकाविरुद्ध महिला संघ सडकमा


“
धरान, भदौ ७ । धरान उपमहानगरपालिकाले करको दर दायरा बढाएको भन्दै नेपाली काँग्रेस सम्बद्ध नेपाल महिला संघले आन्दोलनको घोषणा सँगै बिहिबार विरोध र्याली निकालेको छ ।
संघले करको दर दायरा बढाउने विषयमा सरोकारवालासँग कुनै राय सल्लाह नभएको भन्दै कर तथा घर सम्पतिको मूल्यांकन मूल्य समेत अविलम्ब फिर्ता गर्न माग गरेको छ ।
संघका अध्यक्ष सुशिला श्रेष्ठले उपमहानगरको नेतृत्वले आफू भन्दा जान्ने र ज्ञानी धरानमा अरु कोही नभएको ठान्ने गरेको आरोप लगाएकी छन् । उपमहानगरले करको विषयमा आफूहरुसँग नजिक हुने राजनीतिक दलहरुसँग मात्र बसेर छलफल गरेको आरोप पनि श्रेष्ठले लगाएकी छिन् ।
संघको मागका सन्दर्भमा उपमहानगरले वेवास्ता गरेमा चरणबद्ध रुपमा आन्दोलनको घोषणा गर्ने श्रेष्ठले बताएकी छन् ।
उनले उपमहानगर कार्यवाहक प्रमुखसँग आफनो सम्वाद भइरहेको समेत जानकारी दिएकी छन् । “”संवाद भएर मात्र भएन पहिला बढाइएको कर खारेजी गरौँ अनि छलफलमा बसौँ”” उनले भनिन् “”कर असुली गरिरहँदाको अवस्थामा वार्ताको कुनै औचित्य छैन ।””
साथै सो विरोध र्यालीमा नेपाल महिला संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । र्याली धरान १ छाता चौकबाट सुरु भई नगरको विभिन्न स्थान परिक्रमा गरि भानुचौकमा कोण सभामा परिणत भएको थियो । यसैबीच नेपाली काँग्रेस वडा नं १८ कार्यालयले कर विरोधका हस्ताक्षर अभियान सुरु गरेको छ ।
बिहिबार करको विरोध गर्दे बुद्धचोकमा माईन्युटमा राखी सो हस्तारक्षर अभियान सञ्चालन गरेको नेपाली काँग्रेसका धरान नगर सचिव श्याम पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार करको विरोध स्वरुप धरानभरिका २० वटै वडामा क्रमशः हस्ताक्षर अभियान गरिने छ ।
“
